काठमाडौं, ७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारी, सङ्गठन सुदृढीकरण तथा सरकारका गलत कामको प्रचारलाई केन्द्रमा राखेर दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको गत असोज २३ गतेको निर्णयअनुसार अभियान आज कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुन लागेको हो।
नेकपाका नेता तथा केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी) का अनुसार अभियानमा आगामी निर्वाचन, पार्टीको राष्ट्रिय महाधिवेशन, सङ्गठन विस्तार, जनजीविकाका सवाल, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षालगायत विषयलाई प्राथमिकता दिइनेछ।
पार्टीले गत असोज २५ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा राष्ट्रिय महाधिवेशन, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारी र सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ।
नेकपाको सूचना तथा सञ्चारप्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतले जागरण अभियान पार्टीलाई जनतातिर फर्काउने उद्देश्यले सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार अभियानमार्फत सङ्गठनात्मक सुदृढीकरण, स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी, महाधिवेशनको तयारी तथा विपद् प्रभावित क्षेत्रमा पुनर्स्थापनाका काममा पार्टी केन्द्रित हुनेछ।
अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी कमिटी तथा नेता–कार्यकर्ता परिचालित हुनेछन्। केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरूलाई विभिन्न जिल्लाको समन्वय गर्ने जिम्मेवारी दिइएको छ। उनीहरूले सम्बन्धित प्रदेश र जिल्ला पार्टी कमिटीसँग समन्वय गर्दै अभियानका गतिविधि सञ्चालन तथा अनुगमन गर्नेछन्।
जनताका समस्या सङ्कलनदेखि भ्रष्टाचारविरुद्ध अभियानसम्म
नेकपाले अभियानअन्तर्गत पार्टी कमिटी तथा जनवर्गीय सङ्गठनको समायोजन पूरा गर्ने, सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिने र बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने योजना बनाएको छ।
त्यसैगरी, जनता र पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन जनकेन्द्रित कार्यक्रम, सांस्कृतिक गतिविधि, श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ। जनताका माग र दैनिक जनजीविकासँग सम्बन्धित समस्या सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने तथा समाधानका लागि पहल गर्ने पनि अभियानको उद्देश्य रहेको छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काममा सहयोग गर्ने तथा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार र सुशासनका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा र जनताले भोगिरहेका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रमसमेत अभियानमा समेटिएको छ। यसका लागि केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र बुझाउने नेकपाको योजना छ।
पार्टीले अभियानको सुरुवात तथा कार्यक्रमबारे जानकारी दिन आज दिउँसो २ः३० बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायत नेताले अभियानबारे जानकारी दिने बताइएको छ।
स्थानीय अवस्था, जनताको आवश्यकता र सम्बन्धित तहका पार्टी कमिटीको निर्णयअनुसार अभियानका कार्यक्रम लचिलो ढङ्गले सञ्चालन गरिने नेकपाले जनाएको छ। आगामी निर्वाचनको तयारीसँगै जनताका दैनिक समस्या उठाउने र पार्टी सङ्गठनलाई सक्रिय बनाउने उद्देश्यले सञ्चालन हुन लागेको अभियानलाई पार्टीले राजनीतिक गतिविधि विस्तारको महत्त्वपूर्ण कार्यक्रमका रूपमा अघि सारेको छ।


तपाईको प्रतिक्रिया !