पर्सा, ७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) ले कर्मचारी आफैँले सरकारी गाडी चलाए चालकको तलबसमेत कर्मचारीलाई दिने गरी ल्याउन लागिएको प्रस्तावप्रति आपत्ति जनाएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको समाचार सार्वजनिक भएपछि सांसद संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले उक्त प्रस्ताव सत्य भए स्वीकार्य नहुने बताउँदै चालकको रोजगारी खोसेर त्यसको तलब कर्मचारीलाई दिनु उचित नभएको धारणा राखेकी छन्।
कर्मचारीले स्वकीय सचिव नराखी आफैँ काम गरेर त्यसबापतको सुविधा पनि आफैँ लिने हो भने के हुन्छ भन्ने प्रश्न गर्दै उनले नियम बनाउँदा सबै पक्षको हितलाई ध्यान दिनुपर्ने बताएकी छन्।
सरकारले नागरिकमैत्री वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै सांसद संग्रौलाले प्रशासनिक खर्च कटौतीका नाममा गरिब तथा श्रमजीवी वर्गको रोजीरोटी खोस्नु उचित नहुने बताएकी छन्।
प्रस्तावित व्यवस्थाले सवारी चालकको रोजगारी र जीविकोपार्जनमा प्रत्यक्ष असर पार्न सक्ने उनको भनाइ छ। उनले यस विषयमा आम नागरिक तथा सरोकारवालाको प्रतिक्रिया पनि माग गरेकी छन्।
सरकारी खर्च व्यवस्थापनका लागि ल्याउन लागिएको निर्देशिकाको उक्त प्रस्तावबारे सार्वजनिक बहस सुरु भएको छ।


तपाईको प्रतिक्रिया !