प्राकृतिक विपत्तिका कारण कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

NEWS DESK
२०८३ कार्तिक ९, आईतवार ०८:२० बजे

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। प्राकृतिक विपत्तिका कारण देश शोकमा रहेकाले यस वर्ष कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।

बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको कांग्रेसले यसपटक भने विपत्तिबाट प्रभावित परिवारप्रति संवेदना व्यक्त गर्दै कार्यक्रम नगर्ने निर्णय गरेको हो।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते विज्ञप्ति जारी गर्दै भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र ठूलो सङ्ख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको उल्लेख गरेका थिए। बूढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्‍याएकाले यस्तो दुःखद घडीमा चियापान कार्यक्रम आयोजना नगरिने विज्ञप्तिमा जनाइएको थियो।

कांग्रेसको चियापान कार्यक्रमको इतिहास पार्टीका संस्थापक नेता बीपी कोइरालासँग जोडिएको छ। राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका बीपीले २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गरेका थिए।

त्यसयता नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो। यस कार्यक्रमलाई विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीच भेटघाट र आपसी सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा लिइँदै आएको छ।

तर, यस वर्ष देशमा प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई मध्यनजर गर्दै कांग्रेसले आफ्नो लामो समयदेखिको परम्परालाई निरन्तरता नदिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्