सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी गराएकी हुन्।
शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएको छ। तर, आकस्मिक तथा अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने सूचनामा उल्लेख छ।
८५ वर्षीय अध्यक्ष साहको गत बुधबार बिहान काठमाडौंमा निधन भएको थियो।
अध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।


तपाईको प्रतिक्रिया !