रौतहटमा तीन महिनामा ३०३ अपराधका मुद्दा, ५७ लाखभन्दा बढीका अवैध सामान बरामद

NEWS DESK
२०८३ कार्तिक ११, बुधवार १७:१९ बजे

रौतहट, ११ कात्तिक । रौतहटमा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा विभिन्न प्रकृतिका ३०३ वटा अपराधका मुद्दा दर्ता भएका छन्। यस अवधिमा प्रहरीले भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ५७ लाख ८७ हजार ४६३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्कअनुसार तीन महिनाको अवधिमा महिला तथा बालबालिकासम्बन्धी ५९, सामाजिक अपराधका ५७, चोरीसम्बन्धी ४०, ज्यानसम्बन्धी ३६, सङ्गठित तथा आर्थिक अपराधका ३० र सवारी ज्यानसम्बन्धी २६ वटा मुद्दा दर्ता भएका छन्। आत्महत्यासम्बन्धी १३ तथा अन्य प्रकृतिका ४२ वटा मुद्दा पनि अभिलेखमा उल्लेख छन्।

प्रहरीले राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरी पाँचवटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।

फैसला कार्यान्वयनमा १३८ जना पक्राउ

अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले १३८ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट ४२ वर्ष सात महिना आठ दिन कैद तथा ६४ लाख ४५ हजार ५६० रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ। चालु मुद्दाका प्रतिवादीमध्ये १७९ जना पक्राउ परेका छन्।

प्रहरीमा परेका १ हजार १४७ उजुरीमध्ये १ हजार १६ वटा फर्छ्योट भएका छन् भने १३१ वटा उजुरी फर्छ्योट हुन बाँकी छन्। घरेलु हिंसासम्बन्धी ११५ उजुरी परेकोमा ९९ वटा मिलापत्रबाट टुङ्ग्याइएको प्रहरीले जनाएको छ।

अवैध मदिरा नियन्त्रण अभियानमा ७५२ लिटर मदिरा बरामद गरिएको छ। प्राकृतिक सम्पदाको दोहन नियन्त्रणका क्रममा ३१ वटा ट्र्याक्टर नियन्त्रणमा लिएर १ लाख ६३ हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यस्तै, अवैध वन पैदावार नियन्त्रणका क्रममा तीन जनालाई पक्राउ गरी तीनवटा ट्र्याक्टर र चारवटा साइकल नियन्त्रणमा लिइएको छ। प्रहरीले २५६.५ घनफिट काठ बरामद गर्नुका साथै २ लाख २५ हजार ६०५ रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त गरेको विवरणमा उल्लेख छ।

लागूऔषधका आठ मुद्दा, ११ जना पक्राउ

लागूऔषधसम्बन्धी आठवटा मुद्दा दर्ता हुँदा ११ जना पक्राउ परेका छन्। प्रहरीले पाँच किलो ८६५ ग्राम गाँजा, १५ ग्राम ७७ मिलिग्राम हेरोइन तथा विभिन्न प्रकारका औषधिजन्य पदार्थ र ट्याब्लेट बरामद गरेको जनाएको छ।

अवैध हतियार नियन्त्रण अभियानअन्तर्गत परोहा नगरपालिका–८ स्थित पटेल चोकबाट १२ बोरको कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तीन महिनामा २०७ सवारी दुर्घटना, १२ जनाको मृत्यु

रौतहटमा तीन महिनाको अवधिमा २०७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ३०६ जना घाइते भएका छन्। दुर्घटनामा २७९ वटा सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्याङ्क छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २५१ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले २३ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यसै अवधिमा जिल्लामा ७२ वटा विपद्सम्बन्धी घटना भएका छन्। ती घटनामा १३ जनाको मृत्यु भएको, २७ जना घाइते भएको र आठ जनालाई उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ। विपद्का कारण १ करोड ८ लाख ८५ हजार २७८ रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

साइबर ठगी नियन्त्रण र चाडपर्व सुरक्षा

प्रहरीले हराएका तथा चोरी भएका ८१ वटा मोबाइल फोन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जनाएको छ। मोबाइल बैंकिङ तथा ई–सेवा कर्मचारी भएको बहाना बनाई ‘केवाईसी अपडेट’का नाममा बैंकिङ विवरण र ओटीपी लिएर रकम चोरी गर्ने आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन ८९० जना प्रहरी कर्मचारी परिचालन हुने गरी विशेष सुरक्षा योजना लागू गरिएको प्रतिवेदनमा उल्लेख छ।

समुदाय तथा विद्यालयमा सचेतना कार्यक्रम

प्रहरीले समुदाय केन्द्रित २४४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४ हजार ५७५ जनालाई लाभान्वित गराएको छ। त्यस्तै, ३४ वटा विद्यालयमा सञ्चालन गरिएका कार्यक्रममा २ हजार ७५ जना विद्यार्थी सहभागी भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमद्वारा जारी विज्ञप्तिअनुसार प्रहरीले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण तथा नागरिक सचेतनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्