मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा प्रादेशिक अस्पताल पोखरियाको समुद्घाटन, छिट्टै उन्नति र प्रगतिको प्रतिबद्धता



वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नं. ४ मा अवस्थित प्रादेशिक अस्पताल पोखरिया मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल रायद्वारा एक विशेष कार्यक्रमबीच संयुक्त रूपमा समुद्घाटन गरिएको छ।

समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रादेशिक अस्पताल पोखरियाको छिट्टै उन्नति र प्रगति हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले प्रदेशमा कार्यरत चिकित्सकहरूलाई दरबन्दी भएको स्थानमै खटाउन मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको उल्लेख गर्दै, अटेरी गरेमा कारबाही गरिने चेतावनी दिनुभयो। यसैगरी, अस्पतालका लागि भौतिक संरचना, उपचार उपकरण, ल्याब केमिकल तथा आवश्यक जनशक्ति यथाशीघ्र व्यवस्थापन गरिने आश्वासन पनि दिनुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल रायले पोखरिया अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्था बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युमन प्रसाद चौहानले अस्पतालको उन्नति तथा विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै, स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले अस्पतालको समग्र विकासका लागि सर्वपक्षीय सहयोग आवश्यक रहेको पनि बताउनुभयो।

समुद्घाटन समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्पतालबाट उपलब्ध सेवा–सुविधा, वर्तमान अवस्था, बिरामी उपचारका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वाधारबारे प्रमुख अतिथि तथा उपस्थित जनसमुदायलाई जानकारी गराउनुभयो। उहाँले अस्पताललाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण तथा सेवा सुविधाको मागसहितको प्रतिवेदन मुख्यमन्त्री यादवलाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा पोखरिया क्षेत्रमा रहेको १२ बिघा ऐलानी जग्गामा रंगशाला निर्माण तथा वडा नं. ४ स्थित विशाल हनुमान मन्दिरलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न बजेट विनियोजनको मागसमेत उठाइएको थियो। पूर्व मेयर दीपनारायण प्रसाद रौनियार लगायत अन्य वक्ताहरूले बजेट विनियोजन पर्याप्त नभएको भन्दै पत्रमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रादेशिक अस्पताल पोखरिया विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल राय, भूमि व्यवस्था तथा कृषि मन्त्री श्याम पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री प्रमोद जयसवाल, नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, पोखरिया नगर प्रमुख प्रद्युमन चौहान, मुख्यमन्त्रीका स्वकीय सचिव सन्तु यादव, नेपाली कांग्रेसका युवा नेता नवीन सिंह, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उप प्रमुख रुवी कुमारी ठाकुर, पूर्व उप प्रमुख सलमा खातुन, नेपाली कम्युनिष्ट पार्टीका पनालाल पटेल, राष्ट्रिय मुक्तिक्रान्ति पार्टीका नेता नेजामोदिन समानी, नेपाली काँग्रेसकी नेत्री तथा पोखरिया नगरपालिकाको प्रस्तावित उप मेयर पदकी उम्मेदवार आशा देवी चौहान, नेपाल रेडक्रस सोसायटी उपसाखा पोखरियाकी सभापती भगवान प्रसाद कुर्मी, नेकपा एमाले पोखरिया नगर कमिटी सचिव सन्तोष गिरी, सशस्त्र प्रहरी बेस केम्प पोखरियाकी सशस्त्र प्रहरी नायब उपरीक्षक सम्भु कटुवाल, ईलाका प्रहरी कार्यालय पोखरियाकी प्रहरी निरीक्षक प्रदीप पौडेल लगायत प्रदेश सरकारका वर्तमान तथा पूर्व मन्त्री, सांसद, नगर प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, बुद्धिजीवी, सञ्चारकर्मी, अस्पताल कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा शिव पटेलले सहजीकरण गर्नु भएको थियो।

समापन मन्तव्यमा अध्यक्ष उमेश प्रसाद चौहानले प्रदेश सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्दै पोखरिया अस्पतालको प्रगतिको लागि हक–अधिकारका निम्ति संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज