कालिकामाई–१ मा नवनिर्मित वडा कार्यालय भवनको भव्य उद्घाटन



वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मा नवनिर्मित वडा कार्यालय भवनको बुधबार भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन जिल्ला समन्वय समिति पर्साका प्रमुख निरंजन प्रसाद साह सोनार र गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अजय सर्राफले शिक्षाको विकास र भौतिक पूर्वाधार सुदृढीकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो। उहाँले सोही अवसरमा विद्यालयको थप विकासका लागि जिल्ला समन्वय समितिको तर्फबाट ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

गाउँपालिका अध्यक्ष गुप्ताले नयाँ भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले जनताको आवश्यकता र स्पष्ट विकास दृष्टिकोणका साथ आफ्नो पहलमा निर्माण सम्पन्न भएको उक्त भवन केवल संरचना मात्र नभई समृद्ध कालिकामाई निर्माणको महत्वपूर्ण आधार भएको बताए।

उनले भने, “वर्षौँदेखि प्रतिक्षामा रहेको यस पूर्वाधारलाई व्यवहारमा उतार्दै हामीले विकासको गति अब रोकिने छैन भन्ने सन्देश दिएका छौँ। जनताको सेवा, सुशासन र दिगो विकास हाम्रो पहिलो प्राथमिकता हो र रहनेछ।”

कालिकामाई गाउँपालिका र जिल्ला समन्वय समिति पर्साको संयुक्त लगानीमा दुई तल्ले सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो। करिब ८० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा जिल्ला समन्वय समितिले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लगानी गरेको जनाइएको छ।

गाउँपालिका अध्यक्ष गुप्ताको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख सोनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरन प्रसाद कुर्मी, वडा नं. १ का वडाध्यक्ष लालबाबु प्रसाद बरै, वडा नं. ५ का वडाध्यक्ष जयनारायण प्रसाद कुर्मी लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज