२०औँ जन्मदिनमा सुरजको सामाजिक पहल, ३४ छात्रालाई न्यानो कपडा र शैक्षिक सामग्री



पोखरिया । जन्मदिनलाई तडकभडक र मनोरञ्जनमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले पत्रकार धर्मेन्द्र चौरसियाका छोरा सुरज चौरसियाले आफ्नो २०औँ जन्मदिनको अवसरमा छात्राहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन्।

पोखरिया नगरपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सुरजले विद्यालयका ३४ जना छात्रालाई न्यानो कपडा तथा आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन्। जाडो मौसममा विद्यार्थीलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको हो।

वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मी, प्रधानाध्यापक शंकर शाह रौनियार, प्रदीप चौरसिया, राम कलश चौरसिया, पत्रकार शैलेश गुप्ता, दिपेश चौरसिया, राजा ठाकुरलगायतको उपस्थिति थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले जन्मदिनका अवसरमा गरिने सामाजिक कार्यले सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवापुस्तालाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने बताए। उनीहरूले सुरजको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे।

सुरजले जन्मदिनको खुसी विद्यार्थीहरूसँग बाँड्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै सहयोगले छात्राहरूको अध्ययनमा उत्साह थप्ने विश्वास व्यक्त गरे। परिवारले जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्दै आएको जनाएको छ। विद्यालय परिवारले सहयोगका लागि सुरजप्रति आभार व्यक्त गरेको छ। कार्यक्रमको सहजीकरण शिक्षक गनी अन्सारीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज