क्यासिनो प्रकरणपछि पोखरिया प्रहरीको कमान्ड परिवर्तन, नयाँ प्रमुखमा भानुभक्त अर्याल



वीरगंज (पर्सा)। क्यासिनो प्रकरणपछि इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्व परिवर्तन गरिएको छ। तत्कालीन प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेपछि उनको स्थानमा प्रहरी निरीक्षक भानुभक्त अर्याललाई काज सरुवा गरी पोखरिया पठाइएको हो।

अर्याल यसअघि इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत थिए। प्रहरी सेवामा लामो अनुभव बोकेका उनले सहायक प्रहरी निरीक्षक (असई) बाट सेवा प्रवेश गरेका हुन्। प्रहरी सेवाका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अर्यालले मुद्दा फाँटमा काम गर्नुका साथै विभिन्न प्रहरी कार्यालयको कमान्डसमेत सम्हालिसकेका छन्। अनुभव र कार्यक्षमताका आधारमा उनलाई पोखरियाको संवेदनशील जिम्मेवारी दिइएको बताइएको छ।

पोखरिया प्रहरीको नेतृत्व परिवर्तन वीरगञ्ज–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा शनिवार प्रहरीले छापा हानेपछि विकसित घटनाक्रमसँगै भएको हो। उक्त घटनामा पोखरिया प्रहरीका तत्कालीन प्रमुख पौडेलसहित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा तथा क्यासिनोका कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पक्राउ परेका थिए। पक्राउ परेकामाथि अनुसन्धानका लागि सोमबार जिल्ला अदालत पर्साले ६ दिनको म्याद थप गरेको थियो।

क्यासिनो प्रकरणमा पौडेलको नाम जोडिएपछि उनी निलम्बनमा परेका हुन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान अघि बढाइरहेको छ। अनुसन्धान जारी रहेकै अवस्थामा पोखरियाको प्रहरी नेतृत्व फेरिएपछि नयाँ प्रमुखका रूपमा अर्यालको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

ग्रामीण तथा सीमावर्ती भूभाग समेटिएको पोखरियामा सीमा अपराध, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्नु उनका प्रमुख चुनौती हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज