वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगञ्जस्थित क्यासिनोबाट पक्राउ परेका छन्।
शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले क्यासिनो परिसरबाट सखुवा प्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको जनाएको छ। सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले यादवलाई सवारीसाधनसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यादवसहित नियन्त्रणमा लिइएका क्यासिनोका कर्मचारी तथा अन्य व्यक्तिको पहिचान र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। सरकारी सवारीसाधन क्यासिनोमा कसरी र कुन प्रयोजनका लागि प्रयोग भयो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे विस्तृत विवरण आइतबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन्।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न कानुनी प्रतिबन्ध रहेकाले सरकारी जिम्मेवारीमा रहेका गाउँपालिका अध्यक्ष क्यासिनो परिसरमा सरकारी सवारीसाधनसहित भेटिनुलाई प्रहरीले समेत गम्भीर रूपमा लिएको जनाएको छ। यद्यपि, यादवले क्यासिनोमा जुवा खेले/नखेलेको तथा उनको उपस्थितिको वास्तविक उद्देश्यबारे अनुसन्धानबाट स्पष्ट हुने प्रहरीले जनाएको छ।
घटनाले सरकारी सवारीसाधनको प्रयोग, सार्वजनिक पदमा रहेका जनप्रतिनिधिको आचरण तथा सरकारी स्रोतसाधनको सम्भावित दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको छ।
प्रहरीको अनुसन्धान र आधिकारिक विवरणपछि घटनाको वास्तविकता तथा यादवमाथि लाग्ने कानुनी कारबाहीबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।