छिपहरमाई गाउँपालिकामा कार्यालय समयमै कर्मचारी सोफामा मस्त निद्रामा



वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका कर्मचारी कार्यालय समयमै कार्यालयभित्रको सोफामा सुतेको भिडियो तथा तस्वीर सार्वजनिक भएपछि कर्मचारीको अनुशासन र सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठेको छ।

सार्वजनिक प्रमाणमा गाउँपालिकाको कार्यालयभित्र गार्ड तथा चालकको जिम्मेवारीमा रहेका मनिफ आलम सोफामा सुतेको अवस्थामा देखिएका छन्। कार्यालय समयमै कर्मचारी निदाएको दृश्य भिडियोमै कैद गरिएको छ।

सरकारी कार्यालयमा सेवाग्राहीको काम गर्ने समयमा कर्मचारी सोफामा निदाएको घटना सामान्य विषय नभएको स्थानीयको भनाइ छ। यसले कार्यालयमा कर्मचारीको समयपालना, जिम्मेवारीबोध र प्रशासनिक निगरानी कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ।

तस्वीर तथा भिडियो प्रमाण सार्वजनिक भइसकेपछि सम्बन्धित कर्मचारीमाथि छानबिन गरी कार्यालय समय, हाजिरी र जिम्मेवारीको अवस्थासमेत परीक्षण गरेर दोष पुष्टि भए प्रचलित नियमअनुसार कारबाही गर्नुपर्ने माग उठेको छ।

छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहले भिडियो तथा तस्वीर हेरेर वास्तविकता पुष्टि भएपछि प्रचलित नियमअनुसार आवश्यक कारबाही गरिने बताएका छन्।

घटनाबारे प्रतिक्रिया लिन खोज्दा सम्बन्धित कर्मचारी मनिफ आलमसँग सम्पर्क गर्दा फोन उठेन। अब गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार कर्मचारीमाथि के कारबाही गर्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज