झारफुकमा आधा घण्टा बिताउँदा पाँच वर्षीय बालकको सर्पदंशबाट मृत्यु

NEWS DESK
२०८३ आश्विन ३०, शुक्रबार २०:२१ बजे

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित कट्टी परवाहा टोलमा सर्पदंशबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ। दसैंको उल्लासबीच सुमित मण्डलको मृत्यु भएपछि परिवारसहित सिंगो बस्ती शोकमा डुबेको छ। सर्पले डसेपछि तत्काल अस्पताल लैजानुपर्ने बालकलाई सुरुमा धामीझाँक्रीबाट झारफुक गराउँदा उपचारमा ढिलाइ भएको थियो।

बुधबार दिउँसो घरको आँगनमा खेलिरहेका बेला सुमितलाई विषालु सर्पले डसेको थियो। सर्पले डसेपछि आत्तिएका उनी दौडेर हजुरआमा फूलकुमारीको काखमा पुगेका थिए। केही बेरमै उनी अचेत भए। तर, परिवारले तत्काल अस्पताल लैजानुको सट्टा गाउँकै धामीझाँक्री बोलाएर झारफुक गराउन थालेको थियो।

झन्डै आधा घण्टासम्म झारफुक गर्दा पनि बालकको अवस्थामा सुधार नआएपछि मात्रै उनलाई कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्‍याइएको थियो। त्यहाँ भेन्टिलेटरको सुविधा नभएको र बालकको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएका थिए।

त्यसपछि उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल लगियो। त्यहाँबाट पनि अन्यत्र लैजान सल्लाह दिइएपछि सुमितलाई गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सुमितका बुवा ओमप्रकाश मण्डल र आमा रेणुदेवीका लागि छोराको मृत्यु असह्य पीडा बनेको छ। समयमै अस्पताल पुर्‍याएर उपचार सुरु गर्न सकेको भए छोराको ज्यान जोगिन सक्थ्यो कि भन्ने प्रश्नले परिवारलाई सताइरहेको छ।

गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार बालकलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको थियो। सर्पको विष शरीरभरि फैलिएको अवस्थामा उपचार कठिन हुने उल्लेख गर्दै उहाँले सर्पदंशको घटनामा झारफुकमा समय खेर नफाली तत्काल अस्पताल पुग्नुपर्ने बताउनुभयो।

मृत घोषणा गरिएपछि पनि झारफुक

घटनाको अर्को दुःखद पक्ष चिकित्सकले बालकलाई मृत घोषणा गरिसकेपछि पनि आफन्तले धामीझाँक्रीप्रतिको विश्वास नत्याग्नु हो। अस्पतालमा मृत्यु पुष्टि भएपछि पनि आफन्तले शव मुख्य प्रवेशद्वारनजिकै राखेर गाउँबाट धामीझाँक्री बोलाएका थिए। त्यहाँ पुनः झारफुक गरिए पनि बालकको शरीरमा कुनै हलचल देखिएन।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले अन्धविश्वासमा नपर्न र चिकित्सकीय उपचारको महत्त्व बुझ्न आग्रह गरेपछि आफन्तले शव लिएर अस्पताल परिसर छाडेका थिए। तर, उनीहरू त्यतिमै रोकिएनन्। शव लिएर सीमावर्ती भारतीय बजार महादेवमण्ठस्थित एक धामीको घर पुगे। त्यहाँ पनि विभिन्न विधिबाट झारफुक गर्दा बालक जीवित नभएपछि निराश हुँदै फर्किएका थिए।

प्रहरीले घटनाबारे चासो देखाएपछि आफन्तले बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालमा शव पोस्टमार्टमका लागि बुझाएको अस्पताल प्रशासनले जनाएको छ।

अन्धविश्वास र चेतनाको अभावले बढाएको जोखिम

सुमितको मृत्यु एउटा परिवारको निजी पीडा मात्र होइन, समाजमा अझै कायम रहेको अन्धविश्वास र स्वास्थ्यसम्बन्धी चेतनाको अभावको दुःखद उदाहरण पनि हो। सर्पदंशजस्तो आकस्मिक अवस्थामा उपचारमा हुने ढिलाइले ज्यानै जान सक्ने भएकाले तत्काल स्वास्थ्य संस्थामा पुग्नु आवश्यक हुन्छ।

धामीझाँक्रीप्रतिको परम्परागत विश्वास, डर र उपचारसम्बन्धी जानकारीको अभावका कारण बिरामीलाई अस्पताल पुर्‍याउन ढिलाइ हुने गरेको डा. झाले बताउनुभयो। उहाँका अनुसार सर्पले डसेको अवस्थामा झारफुकमा समय बिताउनुको सट्टा तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ।

सर्पदंशका घटनामा जनचेतना अभिवृद्धि, स्थानीय तहमा उपचार सेवाको पहुँच विस्तार र समयमै अस्पताल पुग्ने वातावरण निर्माण गर्नु आवश्यक देखिएको छ। सुमितको दुःखद मृत्युले अन्धविश्वासभन्दा वैज्ञानिक उपचारमा विश्वास गर्नुपर्ने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्