काठमाडौं । अमेरिकाको ओहायो राज्यमा नेपाली मूलका ५२ वर्षीय व्यवसायी तारा सिन्चुरीको गोली प्रहार गरी हत्या भएको छ । आफ्नै गहना तथा कपडा पसलभित्र रहेका बेला मङ्गलबार दिउँसो उनीमाथि गोली प्रहार भएको हो ।
ओहायोको फेयरफिल्डस्थित पसलमा गोली चलेको सूचना पाएपछि घटनास्थल पुगेको स्थानीय प्रहरी टोलीले सिन्चुरीलाई पसलभित्र मृत अवस्थामा फेला पारेको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनालाई सम्भावित लुटपाटसँग जोडेर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान, हत्याको उद्देश्य र लुटपाटमा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
घटनालगत्तै प्रहरीले आसपासका व्यावसायिक प्रतिष्ठानमा जडान गरिएका सीसीटीभी क्यामेराका दृश्य सङ्कलन गरी अनुसन्धान थालेको छ । दोषीको पहिचान तथा पक्राउका लागि अनुसन्धान जारी रहेको जनाइएको छ ।
भुटानबाट विस्थापित भई अमेरिका पुगेका थिए सिन्चुरी
मृतक सिन्चुरीको परिवार मूलतः भुटानबाट विस्थापित भएको थियो । परिवारले लामो समय नेपालका शरणार्थी शिविरमा बिताएको थियो ।
पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०१२ मा उनी श्रीमती र छोराछोरीसहित अमेरिका पुगेका थिए । अमेरिकामा मेहनत गरेर आफ्नै गहना तथा कपडा व्यवसाय सञ्चालन गर्दै आएका सिन्चुरीको हत्याले परिवार र आफन्तजनलाई शोकमा डुबाएको छ ।
दसैँको समयमा परिवार तथा समुदायसँग खुसी साटासाट गरिरहेका बेला भएको घटनाले स्थानीय नेपाली तथा दक्षिण एसियाली समुदायलाई समेत स्तब्ध बनाएको छ ।
आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका सिन्चुरीको असामयिक निधनले प्रवासी नेपाली समुदायमा दुःख छाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


तपाईको प्रतिक्रिया !