कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

NEWS DESK
२०८३ कार्तिक ७, शुक्रबार ०९:२४ बजे

कास्की, ६ कात्तिक । कास्की जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अन्य महिनाको तुलनामा असोजमा सवारी दुर्घटनाको सङ्ख्या बढी देखिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार तीव्र गति र चालकको लापरवाही सवारी दुर्घटनाका प्रमुख कारण हुन् । असोज महिनामा तीव्र गतिका कारण मात्रै २० वटा दुर्घटना भएका छन् ।

असोज २३ गते कास्कीमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । उक्त दुर्घटनाले जिल्लामा सवारी सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १० वटा, चालक अनुमतिपत्र नभएका चालकका कारण पाँच वटा, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा दुर्घटना भएका छन् । ती ५९ दुर्घटनामा कुल ७९ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ ।

यसैगरी, प्रहरीले असोज महिनामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट तीन लाख होइन, ३९ लाख ९८ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विपद्का घटनामा दुई जनाको मृत्यु

असोज महिनामा कास्कीमा भएका विभिन्न विपद्का घटनामा दुई जनाको मृत्यु भएको छ । सुक्खा पहिरोमा परेर दुई पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा जिल्लामा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका छन् । अविरल वर्षाका कारण चार घरमा आंशिक क्षति पुगेको छ भने चट्याङका घटनामा तीन चौपायाको मृत्यु भएको छ ।

यसैबीच, प्राकृतिक सम्पदा दोहन नियन्त्रण गर्ने क्रममा प्रहरीले सात वटा सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको छ । उक्त कारबाहीबाट एक लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले तीव्र गति, चालकको लापरवाही र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक सावधानी अपनाउन तथा सवारी नियमको पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्