बाघको आक्रमणबाट जिराभवानीमा ७० वर्षीय वृद्धको मृत्यु



वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

जिराभवानी गाउँपालिका–२, काठमाडौं टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक सम्मुनत अधिकारीका अनुसार थारु बुधबार बिहान करिब १० बजे घरबाट घाँस काट्न भन्दै नजिकैको जंगलतर्फ गएका थिए। साँझ अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन तथा आफन्तले उनको खोजी सुरु गरेका थिए।

खोजी गर्ने क्रममा बिहीबार बिहान सब–डिभिजन वन कार्यालय, बसन्तपुरबाट करिब ५०० मिटरभित्रको जंगलमा थारुको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अवस्थाले थारुमाथि बाघले आक्रमण गरेको देखिएको छ। बाघको आक्रमणकै क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

मृतक थारुको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज