बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि आज, विश्वका प्रमुख नेताहरू लन्डनमा



लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि राजकीय सम्मानका साथ आज सोमबार स्थानीय समयअनुसार ११ बजे गरिँदै छ ।

बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गरेकी दिवंगत एलिजाबेथको अन्त्येष्टिको दिन आज बेलायतमा सार्वजनिक बिदा दिइएको छ ।



ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि हुँदैछ ।



महारानीको अन्तेष्टि समारोहमा विश्व नेताहरू, बेलायती राजनीतिज्ञ, च्यारिटी संस्थाका प्रतिनिधि आदि गरी करिब २ हजार सहभागी हुनेछन् ।

महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजी, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा आर्डन, भारतकी राष्ट्रपति द्रोपदी मुर्मु, चीनका उपराष्ट्रपति वाङ चिसान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लन्डन आइसकेका छन् ।

यसैगरी, जापानका नरेश, स्पेनका राजारानी, बेल्जियमका राजारानी, स्पेनका पूर्वराजा, नेदरल्यान्ड्सका राजारानी, डेनमार्ककी रानी र राजपरिवार, स्विडेनका राजारानी, नर्वेका राजारानी, भुटानका राजा, ब्रुनाईका सुल्तान, जोर्डनका राजा, कुवेतका युवराज, लेसोथोका राजा, मलेसियाका सुल्तान, कतारका अमिर, ओमानका सुल्तान आदि आमन्त्रित पाहुनाहरु अत्येष्टि समारोहमा सहभागी हुन लन्डन आइपुगेको अन्तराष्ट्रिय सञ्जार माध्यमले जनाएका छन् ।

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बर ८ मा स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज