काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
महतले भने, ‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ। चैत ६र७ गतेतिर विश्वासको मत लिने कुरा छ। त्यस विषयमा प्रधानमन्त्रीज्यूले नै निर्णय गर्नुहोला।’
उनले आफ्नो पार्टीबाट कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा सहभागी हुने भन्ने विषय अहिले नटुङ्गिएको बताए। नेकपा एमाले र राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् ।
राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र चैत १३ सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।