वीरगञ्ज । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च पर्साको तदर्थ समिति गठन गरिएको छ। वीरगञ्जस्थित होटल गेटवेमा बुधबार आयोजित भेलाले धर्मेन्द्र चौरसियाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।
भेलाले धर्मेन्द्र प्रसाद यादवलाई सचिवको जिम्मेवारी दिएको छ। समितिका सदस्यहरूमा बिमला गुप्ता, नरेन्द्र पटेल, अरविन्द पटेल, रिना गिरी, नितेस कर्ण र राजकुमार साह रहेका छन्।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका प्रदेश इन्चार्ज कृष्ण लामाले मानव अधिकारको सम्मान, सामाजिक विभेदको अन्त्य तथा न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न स्थानीय तहदेखि नै सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
प्रदेश अध्यक्ष अनिल तिवारीले पर्सामा मानव अधिकारको संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा नागरिकका मौलिक अधिकारका विषयमा निरन्तर आवाज उठाउनुपर्ने बताए। उनले जिल्लामा मञ्चका आगामी गतिविधिलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन नवगठित समितिलाई सुझाव दिए।
नवगठित तदर्थ समितिले पर्सामा मानव अधिकारसम्बन्धी गतिविधिलाई थप व्यवस्थित गर्दै पीडित, विपन्न तथा सीमान्तकृत समुदायका सवाललाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएको छ।
भेलाले आगामी आश्विन १७ गते राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च पर्साको जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको छ।