वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–१ स्थित भेडिहरवा नाकामा सशस्त्र प्रहरी बल, नेपाल बिओपी मिर्जापुरले ड्युटी पोष्ट निर्माण गरी सञ्चालनमा ल्याएको छ। सीमा क्षेत्रमा सुरक्षाकर्मीको नियमित उपस्थितिलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको पोष्टको बुधबार उद्घाटन गरिएको हो।
सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरको आन्तरिक स्रोत तथा स्थानीयवासीको सहयोगमा निर्माण गरिएको उक्त पोष्टको उद्घाटन छिपहरमाई गाउँपालिकाका उपाध्यक्षका प्रतिनिधि किशोरी साह कानूले रिबन काटेर गरेका थिए।
बिओपी मिर्जापुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नीर कुमार कार्कीको पहल तथा सक्रियतामा पोष्ट निर्माण सम्पन्न भएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा निर्माण गरिएको पोष्टबाट सुरक्षाकर्मीलाई नियमित ड्युटी तथा निगरानी गर्न सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी अवैध आवतजावत, चोरी–तस्करी, लागुऔषध ओसारपसार तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने अन्य गैरकानुनी गतिविधिमाथि निगरानी बढाउन पोष्ट उपयोगी हुने बताइएको छ।
ड्युटीमा खटिने सुरक्षाकर्मीलाई घाम, वर्षा तथा प्रतिकूल मौसममा सुरक्षित रूपमा बसेर सीमा निगरानी गर्नसमेत पोष्टले सहयोग पुर्याउनेछ। साथै, सीमावर्ती क्षेत्रमा रहेका स्थानीयसँग नियमित सम्पर्क, सूचना आदानप्रदान र समन्वयका लागि समेत पोष्ट उपयोगी हुने अपेक्षा गरिएको छ।
पोष्टसँगै सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ। सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीका साथै आपत्कालीन अवस्थामा स्थानीय बासिन्दाले समेत प्रयोग गर्न सक्ने गरी शौचालय निर्माण गरिएको हो। यसले सीमा क्षेत्रमा सुरक्षा ड्युटीसँगै स्थानीय समुदायको आवश्यकतालाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
पर्सा खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यकता रहेको अवस्थामा ड्युटी पोष्टसँगै शौचालय निर्माणलाई स्थानीयस्तरमा उपयोगी पूर्वाधारका रूपमा हेरिएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौला र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै, छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वर प्रसाद यादव, वडा नं. २ का वडाध्यक्ष महेन्द्र साह कलवार, वडा सदस्य कमल तत्वा, पत्रकार धर्मेन्द्र प्रसाद यादवलगायत स्थानीयवासीको उपस्थिति थियो।
सशस्त्र प्रहरीका अनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट (QIP) अन्तर्गत आन्तरिक स्रोतसाधन तथा स्थानीयवासीको सहयोगमा पोष्ट निर्माण गरिएको हो। सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय तह र समुदायसँगको सहकार्यलाई निरन्तरता दिने सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्नुका साथै अवैध गतिविधि नियन्त्रणका लागि स्थानीय समुदायबाट प्राप्त सूचना महत्वपूर्ण हुने भएकाले सुरक्षाकर्मी र स्थानीयबीचको समन्वयलाई थप मजबुत बनाउने उद्देश्य रहेको सशस्त्र प्रहरीको भनाइ छ।
