रास्वपा पर्सा–४ को कडा चेतावनी! ‘मिसन ८४’ र ‘मिसन मेयर’को अनधिकृत प्रचार नगर्न निर्देशन



वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ ले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षका उम्मेदवारका नाममा सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्षेत्रीय सभापति जितेन्द्र मिश्रद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टीको आधिकारिक निर्णय, नीति तथा निर्देशनबिना “मिसन ८४”, “मिसन मेयर” लगायतका कुनै पनि प्रकारका प्रचार सामग्री, नारा, पोस्टर, भिडियो, ब्यानर वा सन्देश सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रचारप्रसार नगर्न सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समर्थकलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा आधिकारिक निर्णयबिना गरिने यस्ता गतिविधिले संगठनको अनुशासन, नीति तथा आधिकारिक धारणाविपरीत भ्रम सिर्जना गर्न सक्ने उल्लेख गर्दै यस्ता कार्यबाट टाढा रहन अनुरोध गरिएको छ ।

त्यस्तै, कुनै व्यक्ति वा समूहले अनधिकृत रूपमा यस्ता प्रचारप्रसार गरेको प्रमाणित भएमा सम्बन्धित व्यक्ति तथा प्रचारमा संलग्न पेज, ग्रुप वा एडमिनको विवरणका आधारमा पार्टीको विधान, अनुशासन तथा प्रचलित नियमअनुसार आवश्यक छानबिन गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने चेतावनी पनि दिइएको छ ।

रास्वपाले पार्टीको गरिमा, संगठनात्मक अनुशासन तथा आधिकारिक निर्णयको सम्मान गर्दै जिम्मेवार, संयमित र अनुशासित ढंगले प्रस्तुत हुन सम्पूर्ण सदस्य तथा समर्थकलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज