यसरी छुट्दैछ प्रहरीले समातेको आठ करोडको सुपारी



खिलानाथ ढकाल – विराटनगर, २६ साउन । प्रहरीले साउन ५ गते विराटनगर महानगरपालिका-१४ एकीकृत भन्सार जाँच चौकीबाट सुपारी लोड भएका आठ वटा भारतीय नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो।

नेपाली सुपारी भन्दै भारत निकासी गर्न लागेको अवस्थामा प्रहरीले ती ट्रक नियन्त्रणमा लिएको थियो।

ती ट्रकमा एकीकृत भन्सार जाँच चौकी परिसरमै सुपारी लोड गरिएको थियो। नेपाली भनी उत्पत्तिको प्रमाण पत्र जारी गराएर विदेशबाट आयातित सुपारी पुन: भारत निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले समातेको थियो।

ट्रकमा दुई लाख १९ हजार ५९६ किलो सुपारी थियो। यसको मूल्य आठ करोड ६३ लाख ८१ हजार ५६८ रुपैयाँ हुन आउँछ। सुपारी विराटनगर-१४ भानुटोलको मनकामना ट्रेडर्सले भारत निकासी गर्न लागेको थियो।

प्रहरीले नियन्त्रणमा लिइएका ट्रक राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो।

सुपारी २०७१/०७२ सालको स्टक रहेको भनी उत्पत्तिको प्रमाण-पत्र जारी गरिएको थियो।

राजश्व अधिकृतहरूका अनुसार शंका त्यसैमा थियो। मनकामना ट्रेडर्स व्यवसायी नवीन घिमिरेको हो। घिमिरे झापा नामी सुपारी व्यापारी दीपक पोखरेलका सालो हुन्।

यो सुपारी नेपाली होइन भन्नेमा अनुसन्धानका सबै निकायहरू एकमत छन्।

ती निकायका अनुसार यो सुपारी तस्करीमा नेपाल उद्योग वाणिज्य महासंघदेखि झापा उद्योग संघ, नेपाल सुपारी खेती विकास संस्था, कृषि ज्ञान केन्द्र झापा सबैको सक्रियता छ। राजश्वले ती सबै निकायसँग सोधिरहेको छ।

यसक्रममा भेटिएका केही तथ्य छन्।

राजश्व स्रोतका अनुसार झापा उद्योग संघले गत असार २२ गते २१४.२४० मेट्रिक टन सुपारीको उत्पत्तिको प्रमाण पत्र जारी गरेको थियो।

उक्त उत्पत्तिको प्रमाण पत्र कसरी जारी भयो भन्ने सम्बन्धमा राजश्व कार्यालय इटहरीले झापा उद्योग संघलाई चिठी लेखेको थियो।

त्यो चिठीको जवाफमा संघले महासंघकै निर्देशनमा सुपारीको उत्पत्तिको प्रमाण पत्र जारी गरिएको बताएको छ।

२०७१/७२ को स्टक भनी उत्पत्तिको प्रमाण पत्र जारी गर्नका लागि सुरूवाती अग्रसरता नेपाली सुपारी खेती विकास संस्था झापाले गरेको थियो।

उसले कृषकको घर गोदाममा ९ हजार ७७२ मेट्रिक टन सुपारी मौज्दात रहेकाले स्टक प्रमाणित गर्नका लागि कृषि ज्ञान केन्द्र झापालाई चिठी लेखेको थियो।

त्यो चिठी गत जेठ ७ गते संस्थाले केन्द्रलाई लेखेको थियो। केन्द्रले जेठ २१ गते संस्थालाई चिठी लेखेको छ।

जसमा भनिएको छ, ‘जिल्लास्तरीय संकलन तथा प्रमाणीकरण समितिका पदाधिकारीहरूको स्थलगत अनुगमनपश्चात् मिति २०७८ जेठ १० गते बैठक बसी उल्लेखित परिमाणको सुपारी मौज्दात रहेको देखिएको र बैठकबाट समेत निर्णय भएको हुँदा सहज निकासीका लागि आवश्यक व्यवस्था मिलाउन हुन सिफारिससाथ अनुरोध छ।’

यसपछि नेपाल सुपारी खेती विकास संस्थाले असार ११ गते झापा उद्योग संघ झापालाई चिठी लेख्यो।

उसले ९ हजार ७७२ मेट्रिक टन सुवारी निकासी हुन बाँकी रहेकोले उत्पत्तिको प्रमाण पत्र जारी गर्न अनुमति माग्यो।

संघले असार २२ गते २१४.२४० मेट्रिक टन सुपारीको उत्पत्तिको प्रमाण पत्र जारी गर्‍यो।

यसपछि सुपारी तस्करीको खेल सुरू भएको सम्बद्ध अधिकारीहरू बताउँछन्।

घिमिरेको मनकामना ट्रेडर्स फ्रन्टमा देखिने कम्पनी हो। ‘अनसिन’ रुपमा सुपारी तस्करीको सेटिङ मिलाउने झापाका दीपक पोखरेल, गोविन्द सरिया, विराटनगरका प्रदीप मुरारका र दिनेश राठी हुन्।

प्रहरी स्रोतका अनुसार राजश्वले के अनुसन्धान गरिरहेको जानकारी छैन। ‘हाम्रो काम समातेर बुझाउने हो, हामीले बुझायौं,’ एक प्रहरी अधिकृतले भने, ‘यो सुपारी विदेशी हो, नेपाली उत्पत्तिको प्रमाण पत्र जारी गरी निकासी गर्न खोजेको कुरामा शंकै छैन।’

ती अधिकृतका अनुसार निकासी गर्न खोजिएको सुपारी इन्डोनेसियाबाट आयात गरिएको हो।

अहिलेसम्म उक्त सुपारीको ल्याब परीक्षण गरिएको छैन।

राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार ती ट्रक भारतको भन्सारले सिल गरिसकेको थियो। प्राविधिक रुपमा बाटोको कारण ती ट्रक नेपाल हुँदै भारत जाने तर्खरमा थिए।

‘भारतको भन्सारले सिल गरेको हुनाले कानुनी रुपमा मैले खोल्न मिल्दैन, सिल खोल्नै नमिलेपछि परीक्षण गर्ने कुरै भएन,’ अधिकारीले भने, ‘नेपालको भन्सारले सिल गरेको सामान मात्रै मैले खोल्न मिल्ने हो।’

यो सुपारी प्रकरणको गाँठो अब दुई देशको ‘हाई लेभल’ संवादबाट टुंगिन सक्ने उनले बताए। त्यो भनेको सत्तारुढ राजनीतिक नेतृत्व तहबाट हुने संवाद हो। यसकारण बरामद गरिएको सुपारी छुट्ने निश्चितप्राय: छ।

भारतीय भन्सारले सिल गरिसकेको मालवस्तु भारत सरकारका निकायबाहेक अरूले खोल्न नसक्ने अधिकारी बताउँछन्।

२०७१/७२ सालमा भण्डार गरिएको सुपारी प्रयोग गर्न मिल्न कसरी सम्भव छ भन्ने अर्को प्रश्न छ। निकै वर्ष गोदाममा थन्किएको वस्तु सड्न सक्छ। ल्याब परीक्षण गर्नसके त्यो सुपारीबारे थाहा लाग्छ।

उक्त सुपारीको अनुसन्धान कहाँ पुग्यो भनी हामीले राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालसँग सोध्न खोज्यौं। उनी मोबाइल ‘अफ’ गरेर बसेका छन्। उनको कार्यालयको फोन नम्बर ०२५-५८२६०४ ल्याण्डलाइन उठ्दैन।

मुलुकमा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा पुन: सुपारी तस्करीको ‘लाइन’ खोल्ने तयारी भइरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्।

केही महिनाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा २५ हजार मेट्रिक टन सुपारी आयात गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी थालेको थियो। प्रतिनिधिसभाको संसदीय समितिले उक्त सुपारी आयात नगर्न निर्देशन दिएपछि रोकिएको छ।

मलेसिया, सिंगापुर, थाइल्याण्ड, इन्डोनेसियाबाट सुपारी आयात हुने गरेको वर्षौं भयो। उक्त सुपारी नेपालमा ल्याएर नेपाली सुपारी हो भन्दै भारत लैजाने गरिएको छ। त्यसरी विदेशी सुपारी नेपाली हो भन्दै भारत तस्करी गर्ने राजनीतिक-गैरराजनीतिक ‘तस्कर’हरूको समूह सक्रिय छ।

नेपाल-भारत वाणिज्य महासन्धि अनुसार तेस्रो मुलुकबाट आयातित वस्तु पुन: भारत निकासी गर्न पाइँदैन। अन्तर्राष्ट्रिय कानुनले पनि यसलाई अवैध भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज