यातायात कार्यालय अगाडी स्वास्थ्य परीक्षणको नाममा डा.राज पटेलको मनपरी शुल्क असुली



वीरगंज, २६ जेठ । नारायणी यातायात व्यवस्था कार्यालयको लाइसेन्स शाखा, हाताभित्र स्वास्थ्य परीक्षण (निरोगिता प्रमाणपत्र) गर्ने एक निजी चिकित्सकले सेवाग्राहीबाट वर्षौंदेखि मनपरी रकम असुल्दै आएको आरोप सार्वजनिक भएको छ।

स्थानीय सेवाग्राहीहरूका अनुसार चिकित्सक राज पटेलले विगत करिब चार वर्षदेखि लाइसेन्सका लागि आवश्यक स्वास्थ्य परीक्षणको नाममा सेवाग्राहीबाट अतिरिक्त शुल्क लिँदै आएका छन्। आरोप अनुसार उनले प्रत्येक व्यक्तिबाट २०० रुपैयाँका दरले शुल्क उठाउँदै दैनिक ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन्।

सेवाग्राहीहरूले स्वास्थ्य परीक्षणका लागि लिइने शुल्कबारे स्पष्ट सरकारी मापदण्ड, सूचना वा रसीदको व्यवस्था नदेखिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार परीक्षण प्रक्रिया छोटो समयमै सम्पन्न हुने भए पनि शुल्क असुलीमा पारदर्शिता नदेखिएको र त्यसले सेवाग्राही आर्थिक रूपमा मारमा परेको छ।

एक सेवाग्राहीले नाम नखुलाउने सर्तमा भने, “लाइसेन्स प्रक्रिया पूरा गर्न स्वास्थ्य परीक्षण अनिवार्य भएकाले चिकित्सकले मागेको रकम तिर्न बाध्य हुनुपर्छ। शुल्कको कुनै आधिकारिक विवरण वा रसीद दिइँदैन।”

यदि दैनिक ५० जनाभन्दा बढी सेवाग्राहीबाट प्रतिव्यक्ति २०० रुपैयाँ असुली भइरहेको हो भने दैनिक करिब १० हजार रुपैयाँभन्दा बढी रकम संकलन हुने देखिन्छ। चार वर्षको अवधिमा यस्तो असुलीबाट ठूलो रकम उठेको हुन सक्ने अनुमान गरिएको छ।

यस विषयमा सम्बन्धित चिकित्सक, नारायणी यातायात व्यवस्था कार्यालय तथा सरोकारवाला निकायको आधिकारिक धारणा भने प्राप्त हुन सकेको छैन। आरोपबारे सत्यतथ्य छानबिन गरी स्वास्थ्य परीक्षण शुल्क, प्रक्रिया र संकलित रकमको पारदर्शिताबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने माग सेवाग्राहीहरूले गरेका छन्।

नागरिकहरूले यातायात कार्यालय परिसरमा सञ्चालन हुने स्वास्थ्य परीक्षण सेवाको अनुगमन गरी कानुनअनुसार शुल्क निर्धारण र कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज