वीरगञ्ज । मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त सदस्य निरज पिठाकोटेलाई वीरगञ्जमा सम्मान गरिएको छ ।
इकोनोमिक रिपोर्टर्स एसोसिएसन (एरा) ले वीरगञ्जस्थित गहवामाई परिसरमा आयोजना गरेको कार्यक्रममा पिठाकोटेलाई गमछा, फूलमाला र अबिरको टीका लगाएर बधाई तथा सम्मान व्यक्त गरिएको हो ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष शंकर आचार्यले पिठाकोटेलाई सम्मान गर्दै उनको कार्यकाल सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पिठाकोटे हाल ‘कारोबार दैनिक’का मधेश प्रदेश संयोजक तथा प्रेस सेन्टर नेपालका मधेश प्रदेश अध्यक्ष हुन् । उनले यसअघि वीरगञ्जस्थित नारायणी एफएममा लामो समय रेडियो पत्रकारितामार्फत योगदान पुर्याएका थिए । उनी हाल अनलाइन पत्रिका ट्रिब्यूनन्युज डटकममा समेत आबद्ध छन् ।
सम्मान कार्यक्रममा एराका सदस्य एवं पत्रकार राधेश्याम पटेल, नेपाली इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, चेक नेपालका अध्यक्ष दामोदर यादव, सञ्चारकर्मी श्रीनारायण महतोलगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया !