पैसा दोब्बर बनाइदिने भन्दै ५ लाख ठगी, पुराना आरोपीसहित दुई जना सप्तरीबाट पक्राउ

NEWS DESK
२०८३ कार्तिक १९, बिहिवार १०:०८ बजे

सप्तरी । सर्वसाधारणलाई रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामाका ५२ वर्षीय हनुमानी भनिने रामबहादुर रजक र सोही स्थानका ३४ वर्षीय गुन्जेश सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार रजकले उदयपुरका एक व्यक्तिलाई रकम दोब्बर बनाइदिने आश्वासन दिएर पाँच लाख रुपैयाँ लिएको र थप एक लाख रुपैयाँ मागेको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पुरानो चिनजानका सिंहमार्फत रजकसँग सम्पर्कमा पुगेका पीडितले गत कात्तिक १४ गते पाँच लाख रुपैयाँ बुझाएका थिए। रकम दोब्बर बनाएर फिर्ता दिने आश्वासन दिए पनि पटकपटक सम्पर्क गर्दा रकम नपुगेको भन्दै थप एक लाख रुपैयाँ मागिएको थियो।

थप रकम लिन पीडितलाई मंगलबार दिउँसो २ बजे बोलाइएको थियो। रकम लिन पुगेका पीडितको मोबाइल फोन खोसेर सम्पर्कविहीन बनाइएको आरोप छ। त्यसपछि पीडितका साथीहरूले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ। बभनगामास्थित रजकको घरमा पुगेको प्रहरी टोलीले घरको तेस्रो तलाबाट दुवै जनालाई नियन्त्रणमा लिई खानतलासीसमेत गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए।

पुरानो ठगी मुद्दा अझै अदालतमा विचाराधीन

रजक यसअघि पनि पैसा दोब्बर बनाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट ठूलो रकम असुल गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन्।

प्रहरीका अनुसार उनी २०८१ पुसमा दर्जनौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए। त्यतिबेला उजुरी परेको जानकारी पाएपछि मोबाइल बन्द गरी सम्पर्कविहीन भएका रजकलाई सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

उक्त प्रकरणमा ठगी कारोबारमा समूह नै संलग्न रहेको प्रहरी स्रोतको दाबी थियो। रजकबाट ठगिएको रकम असुल गर्न गएको समूहसँग विवाद हुँदा कुटपिट र सवारीसाधन तोडफोड भएको आरोपसमेत सार्वजनिक भएको थियो।

सोही प्रकरणमा पक्राउ परेका रजक करिब तीन महिना थुनामा बसेपछि २०८१ फागुन २९ गते धरौटीमा रिहा भएका थिए। तत्काल धरौटी बुझाउन नसक्दा कारागार चलान भएका उनले पछि ११ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको प्रहरी निरीक्षक प्रमोद साहले जानकारी दिए।

उक्त मुद्दामा उनका छोरा मनोज रजक पाँच लाख रुपैयाँ र श्रीमती लिलम रजक सात लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

धरौटीमा रिहा भए पनि रजकविरुद्धको पुरानो ठगी मुद्दा सप्तरी जिल्ला अदालतमा अझै विचाराधीन छ। उक्त मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेकै अवस्थामा उनीविरुद्ध पुनः ठगीको उजुरी परेको हो।

प्रहरी निरीक्षक साहका अनुसार रजकविरुद्ध यसअघि नै १४ वटा ठगीसम्बन्धी मुद्दा दर्ता भएका छन्। पटकपटक ठगीको आरोपमा पक्राउ पर्दै आएका रजक पुनः नयाँ ठगी प्रकरणमा पक्राउ परेपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्