जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेलसेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सातामा एक दिन भारतको अयोध्याबाट जनकपुरधाम आउने गरी विशेष रेलसेवा सञ्चालनको तयारी भइरहेको नेपाल रेलवे कम्पनीले जनाएको छ।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रूपमा रेलसेवाको उद्घाटन गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको छ।
विशेष रेलसेवा सञ्चालनका लागि नेपाल र भारतका रेलवे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको पराजुलीले जानकारी दिए। उनका अनुसार रेलसेवा उद्घाटनको औपचारिक मिति भने अझै तय भएको छैन।
जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी भइरहेको उनले बताए। यात्रु तथा रेलको सुरक्षाका विषयमा पनि दुवै देशबीच सैद्धान्तिक सहमति भएको छ। जसअनुसार नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले सुरक्षा जिम्मेवारी लिनेछन्।
केही दिनअघि नेपाल र भारतका रेलवे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूको संयुक्त टोलीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
रामायण सर्किटअन्तर्गत सञ्चालन गर्न लागिएको यो रेलसेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलमार्गबाट जोड्ने योजनाले दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई आवतजावतमा सहज हुने जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दासले बताए।
त्यस्तै, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले विशेष रेलसेवा सञ्चालनले धार्मिक तथा सांस्कृतिक सम्बन्धसँगै पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने बताए।
उनका अनुसार रेलसेवा सञ्चालनमा आएपछि जनकपुरधामका होटल, यातायात तथा व्यापार व्यवसायमा चहलपहल बढ्ने र स्थानीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
हाल नेपालमा भारतको जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन हुँदै आएको छ। प्रस्तावित जनकपुरधाम–अयोध्या विशेष रेलसेवा सञ्चालनमा आएपछि नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक स्थलबीचको सम्पर्क थप सहज हुने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया !