पर्सा । पर्सागढी नगरपालिका–स्थित सिङ्गाही खोलामा एउटै ढुवानी रसिद प्रयोग गरी पटकपटक गिट्टी–बालुवा ओसारपसार भइरहेको पाइएको छ। अनुगमनका क्रममा यस्तो गतिविधिमा संलग्न पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडिएको छ।
सबडिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत मुबारक अलि गद्दीको नेतृत्वमा खटिएको वन तथा साझेदारी वनका कर्मचारीको टोलीले निरीक्षणका क्रममा एउटै रसिदबाट पटकपटक ढुवानी भइरहेको फेला पारेको हो।
वन अधिकृत गद्दीका अनुसार पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएर चालक तथा सम्बन्धित पक्षलाई सम्झाइबुझाइ छाडिएको छ। आगामी दिनमा पनि यस्तो गतिविधि दोहोरिए कानुनअनुसार कारबाही गरिने उनले चेतावनी दिएका छन्।
यसअघि स्थानीयको गुनासोपछि वन कार्यालय, साझेदारी वनका कर्मचारी तथा स्थानीय सञ्चारकर्मीको संयुक्त टोलीले गरेको अनुगमनमा नगरपालिकाबाट ढुवानी रसिद प्रमाणित नगराइएको, एउटै रसिदबाट दिनमा तीनदेखि पाँच टिपसम्म गिट्टी–बालुवा ओसारपसार भइरहेको र निर्धारित मापदण्डविपरीत उत्खनन गरिएको पाइएको थियो। त्यसपछि नगरपालिकाले खोला सञ्चालनमा रोक लगाएको थियो।
नगरपालिकाले एक हजार थान ढुवानी रसिद प्रमाणित गरी ठेकेदारलाई हस्तान्तरण गरेपछि आइतबारदेखि खोला पुनः सञ्चालनमा आएको हो।
पर्सागढी नगरपालिकाका राजस्व शाखा प्रमुख अशोक चौधरीले एक हजार थान ढुवानी रसिद प्रमाणित गरी ठेकेदार पक्षलाई दिएको जानकारी दिए। उनका अनुसार वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा खोलाको सीमाङ्कनका लागि डिभिजन वन कार्यालय पर्सा र जिल्ला समन्वय समितिलाई पत्राचार गरी एक–दुई दिनभित्र सीमाङ्कन गर्ने तयारी छ।
नगरपालिकाले मापदण्डअनुसार मात्रै नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्न ठेकेदारलाई निर्देशन दिएको जनाएको छ। तर रसिद प्रमाणित भएपछि पनि एउटै रसिदबाट पटकपटक ढुवानी भएको घटनाले राजस्व चुहावटको सम्भावना र अनुगमनको प्रभावकारितामाथि प्रश्न उठाएको छ। साभार : जनआवाज खबर


तपाईको प्रतिक्रिया !