नेपालगन्ज । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जनतालाई निराश बनाएको आरोप लगाएका छन्। चुनावका बेला जनतासामु विभिन्न आश्वासन बाँडे पनि बालेन शाह नेतृत्वको सरकारले ती प्रतिबद्धताविपरीत काम गरिरहेको उनको दाबी छ।
अग्रगामी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समिति बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले वर्तमान सरकारको पालामा महँगी, भ्रष्टाचार र बेथिति बढ्दै गएको आरोप लगाए। भ्रष्टाचार तथा कमिसनतन्त्र नियन्त्रण हुनुको सट्टा झन् मौलाउँदै गएको र महँगी दोब्बर बढेको उनको भनाइ थियो।
यादवले दिनभर काम गरेर परिवारको पेट पाल्ने गरिब तथा विपन्न नागरिक सबैभन्दा बढी मारमा परेको उल्लेख गरे। सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको, सरकारी अस्पतालमा सहज उपचार नपाइएको र स्वास्थ्य बिमा कार्यक्रमसमेत असफल हुँदै गएको उनले आरोप लगाए।
‘भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रणमा छैन, बरु बढ्दै गएको छ। महँगी दुई गुणा बढेको छ। गरिब जनता जसले दिनभर काम गरेर भोजन जुटाउँछन्, उनीहरू सङ्कटमा परेका छन्,’ यादवले भने।
उनले वर्तमान सरकारसँग गरिब तथा विपन्न वर्गका नागरिकको पक्षमा काम गर्ने कुनै प्रभावकारी योजना नरहेको टिप्पणी गर्दै सुशासनको अवस्था कमजोर भएको दाबी गरे।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले सरकार विदेशी ऋणका भरमा सञ्चालन भइरहेको आरोप लगाए। विगतमा कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारप्रति जनतामा देखिएको असन्तुष्टि अहिले पनि दोहोरिएको भन्दै उनले वर्तमान सरकारबाट समेत जनता आजित हुन थालेको बताए।


तपाईको प्रतिक्रिया !