अस्पताल उद्घाटनमा भएको झडप र गोलीकाण्डबारे छानबिन समिति गठन, प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसियो

NEWS DESK
२०८३ कार्तिक १५, आइतवार ०८:०८ बजे

वीरगञ्ज । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीले चलाएको गोलीबाट स्थानीय युवक घाइते भएको घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन् । समितिलाई जतिसक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

शनिबार बाराको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटन गर्ने क्रममा विवाद चर्किएपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए ।

प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट पाँच जना प्रहरीसमेत घाइते भएका थिए । घटनाका क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गर्नुका साथै नवनिर्मित अस्पतालको शिलालेखसमेत तोडफोड गरेका थिए ।

यसैबीच, घटनाअघि सुरक्षा कमान्ड सम्हालिरहेका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ । उनलाई उक्त जिम्मेवारीबाट हटाइएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ ।

अस्पताल उद्घाटनको विषयलाई लिएर राजनीतिक विवाद उत्पन्न भएको थियो । नेकपा एमालेले यसअघि नै कार्यक्रम रोक्न चेतावनी दिएको थियो । विवेकशील साझा पार्टीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका व्यक्ति पार्टी एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा पुगेका थिए ।

नवनिर्मित अस्पताल उद्घाटनका लागि रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा पुगेपछि विवाद थप चर्किएको थियो । एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको बताइएको छ ।

घटनाबारे छानबिन समितिको प्रतिवेदनपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्