अस्पताल उद्घाटन विवादमा रणभूमि बन्यो फेटा, प्रहरीको गोली लागेर बालक गम्भीर घाइते

NEWS DESK
२०८३ कार्तिक १४, शनिवार १८:२८ बजे

बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर शनिबार बिहान भएको विवाद झडपमा परिणत भएको छ। झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय एक बालक गम्भीर घाइते भएका छन् भने ढुंगामुढा लागेर पाँच जना प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीले अस्पताल परिसरमा रहेका १० वटा मोटरसाइकलमा आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभु प्रसाद ढकालका अनुसार प्रहरीको गोली लागेर फेटा गाउँपालिका–३ का आदित्य पासवान घाइते भएका हुन्। उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

के कारण भयो विवाद ?

फेटा गाउँपालिकामा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटा सहभागी हुन पुगेकी थिइन्।

अस्पताल निर्माणको सुरुवात तत्कालीन गाउँपालिका अध्यक्ष अमिरीलाल साह कानुको कार्यकालमा भएको थियो। उद्घाटनको शिलालेखमा नाम राख्ने विषयलाई लिएर निवर्तमान अध्यक्ष कानु र एमालेका स्थानीय नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउँदै कार्यक्रम रोक्ने चेतावनी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार उद्घाटन कार्यक्रम बिथोल्ने चेतावनी स्थानीय एमाले नेताहरूले दुई दिनअघि नै प्रशासनलाई दिएका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार कार्यक्रममा अवरोध हुन सक्ने विषयमा प्रशासनले शिक्षा विकास तथा समन्वय इकाइ बारालाई समेत जानकारी गराएको थियो।

झडपपछि तोडफोड र आगजनी

मधेस प्रदेश प्रहरीका प्रवक्ता ढकालका अनुसार निवर्तमान अध्यक्ष कानुको नेतृत्वमा करिब दुई सय ५० जनाको समूह कार्यक्रमस्थल पुगेपछि झडप भएको थियो।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार प्रदर्शनकारीले अस्पताल परिसरमा रहेको शिलालेख र उद्घाटनका लागि तयार गरिएको टेन्टमा तोडफोड गरेपछि प्रहरीले लाठीचार्ज गरेर भीड तितरबितर पारेको थियो। त्यसपछि आक्रोशित प्रदर्शनकारीले अस्पताल परिसरमा रहेका १० वटा मोटरसाइकलमा आगजनी गरेका थिए।

घटनाका क्रममा अस्पताल परिसरमा फसेका १० जना स्वास्थ्यकर्मी तथा केही सुरक्षाकर्मीलाई प्रहरीले उद्धार गरेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। हालसम्म कसैलाई पक्राउ नगरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्