जनकपुरधाम–अयोध्याबीच विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

NEWS DESK
२०८३ कार्तिक १३, शुक्रवार १०:०५ बजे

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र धार्मिक तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा विशेष रेल सेवा उद्घाटन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ ।

“प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ,” पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।”

रेल सेवा उद्घाटनको निश्चित मिति भने तय भइसकेको छैन । प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी रहेको छ ।

रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा दुवै देशका अधिकारीबीच छलफल भइरहेको पराजुलीले जानकारी दिए ।

उनका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

यसअघि केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीहरूको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ । विशेषगरी सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या प्रत्यक्ष रेल सेवाबाट जोडिँदा रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले उक्त रेल सेवा सञ्चालनले धार्मिक पर्यटक तथा तीर्थयात्रीको आवागमन सहज बनाउने बताए । यसले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीच पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने उनको भनाइ छ ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अयोध्यासम्म विशेष रेल सेवा विस्तार भएमा दुई देशबीचको धार्मिक पर्यटन र जनस्तरको सम्बन्धलाई थप जोड्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्