पोखरिया नगरपालिकामा ८ वर्षमा १९ जना प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न

NEWS DESK
२०८३ कार्तिक १३, शुक्रवार ११:०२ बजे

पोखरिया, १३ कात्तिक । पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको निरन्तर हेरफेर हुने क्रमले स्थानीय प्रशासनको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय तहको निर्वाचनपछि २०७४ सालदेखि हालसम्म १९ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएको विवरण सार्वजनिक भएसँगै प्रशासनिक नेतृत्व लामो समयसम्म टिक्न नसक्नुको कारणबारे चर्चा सुरु भएको छ ।

स्थानीय सरकार गठन भएको दुई कार्यकाल बित्न लाग्दासमेत नगरपालिकामा प्रशासनिक नेतृत्व स्थिर हुन सकेको छैन । उपलब्ध विवरणअनुसार प्रशासन सेवातर्फका नौ जना प्रमुख प्रशासकीय अधिकृत तीन महिनाभन्दा बढी समय जिम्मेवारीमा रहन सकेनन् । छोटो अवधिमै अधिकृतहरूको सरुवा हुने क्रमले नगरपालिकाको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा समेत असर पार्न सक्ने देखिएको छ ।

अझ रोचक पक्ष त के छ भने प्रशासन सेवाका अधिकृतहरू लामो समय टिक्न नसक्दा स्वास्थ्य, शिक्षा तथा पशु सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै नगरपालिका सञ्चालन गरेको पाइएको छ । उनीहरूमध्ये केहीले छ महिनादेखि एक–दुई वर्षसम्म निमित्तको जिम्मेवारी निर्वाह गरेका छन् ।

यसले प्रशासन सेवाका अधिकृतहरू छोटो समयमै बाहिरिनुपर्ने अवस्था किन सिर्जना भइरहेको छ भन्ने प्रश्न खडा गरेको छ ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको बारम्बार सरुवा हुनुको वास्तविक कारण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । के प्रशासन सेवाका अधिकृतहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न नसकेका हुन् ? वा जनप्रतिनिधिबाट आवश्यक सहयोग र काम गर्ने अनुकूल वातावरण नपाएकाले उनीहरू टिक्न नसकेका हुन् ? अथवा कानुन र प्रशासनिक प्रक्रियाको पालना गर्ने क्रममा जनप्रतिनिधि र कर्मचारीबीच मतभेद उत्पन्न हुने गरेको हो ? यी प्रश्नको जवाफ सम्बन्धित पक्षले दिन आवश्यक देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक नेतृत्व गर्ने महत्वपूर्ण पद हो । आर्थिक प्रशासन, बजेट कार्यान्वयन, कर्मचारी व्यवस्थापन, विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारीसमेत यही पदमा हुन्छ ।

यस्तो महत्वपूर्ण पदमा बारम्बार नेतृत्व परिवर्तन हुँदा विकास योजनाको निरन्तरता, निर्णय प्रक्रियाको प्रभावकारिता र नागरिकले प्राप्त गर्ने सेवामा प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्न सक्छ । प्रशासनिक नेतृत्व परिवर्तन भइरहँदा संस्थागत अनुभव र कार्ययोजनाको निरन्तरतासमेत प्रभावित हुने जोखिम रहन्छ ।

स्थानीय सरकार प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच विश्वास, सहकार्य तथा कानुनसम्मत कार्यसम्पादन आवश्यक हुन्छ । प्रशासनिक नेतृत्वलाई स्वतन्त्र र जिम्मेवार ढङ्गले काम गर्ने वातावरण उपलब्ध गराउनुका साथै कर्मचारीले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने हुन्छ ।

पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म टिक्न नसक्नुको कारण पहिचान गर्न जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित सरोकारवाला निकायले गम्भीर समीक्षा गर्न आवश्यक छ ।

बारम्बारको नेतृत्व परिवर्तनको वास्तविक कारण सार्वजनिक गर्दै प्रशासनिक स्थायित्व कायम गर्न नसकिए नगरपालिकाको कार्यक्षमता, विकास निर्माणको गति र नागरिकको स्थानीय सरकारप्रतिको विश्वासमाथि प्रश्न उठिरहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्