चक्रवात ‘अर्नब’ को प्रभावले देशभर वर्षा र हिमपातको जोखिम, सतर्कता अपनाउन आग्रह

NEWS DESK
२०८३ कार्तिक १३, शुक्रवार ०८:१९ बजे

काठमाडौँ । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम प्रतिकूल बन्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज र भोलि चक्रवातको प्रभाव थप विस्तार हुने सम्भावना छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

विशेषगरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतास चल्ने सम्भावना छ । यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा हिमपातको जोखिम रहेको महाशाखाले जनाएको छ । रातिको समयमा पनि वर्षा र हिमपातको क्रम जारी रहने अनुमान छ ।

मौसम प्रतिकूल रहने सम्भावना रहेकाले सरकारले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । पाक्न लागेको धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न किसानहरूलाई अनुरोध गरिएको छ ।

त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटक तथा पर्वतारोहीलाई त्यस्ता क्षेत्रमा नजान आग्रह गरिएको छ । हाल जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्तिहरूलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा बस्नसमेत सचेत गराइएको छ ।

लगातारको वर्षाले तापक्रम घटेर चिसो बढ्न सक्ने, पहाडी सडक तथा आसपासका क्षेत्रमा पहिरो जान सक्ने र हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने सम्भावना छ ।

महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिक, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायलाई आवश्यक पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्