काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । उनले ३२ बलमा ६२ रन बनाउँदै अविजित रहे । गुलशन झा २८ रनमा नटआउट रहे ।
त्यस्तै, पवन सर्राफले ३६ र दीपक डुम्रेले २० रनको योगदान दिए । विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिँदा चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान एक विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो ।
विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । एन्जेलो म्याथ्युजले ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे ।
कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । नन्दन यादव र मार्क वाटले समान एक विकेट लिए ।
यस जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो । उता विराटनगर भने लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । यसअघि विराटनगर चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।


तपाईको प्रतिक्रिया !