भारतको मेरठमा नीलो ड्रमभित्र शव लुकाइएको घटनाले चर्चा पाइरहेका बेला उत्तर प्रदेशकै प्रयागराजमा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रमबाट करोडौँ भारतीय रुपैयाँ बरामद भएको छ।
प्रयागराजको नवाबगञ्ज थाना क्षेत्रअन्तर्गत बरईपुर रामनगर गाउँमा प्रहरीले एक घरमा छापा मार्ने क्रममा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रम फेला पारेको हो। ड्रमभित्र ५०० भारतीय रुपैयाँका नोटका सयौँ बन्डल भेटिएको र बरामद रकम चारदेखि पाँच करोड भारतीय रुपैयाँसम्म हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्राप्त विवरणअनुसार बुधबार साँझ मुम्बई प्रहरी र प्रयागराज प्रहरीको संयुक्त टोलीले राजेश यादव र राकेश यादव उर्फ महाकालको घरमा घेराउ गरी तलासी गरेको थियो। सोही क्रममा घरको एउटा कोठाको भुइँ खनेर ड्रम निकालिएको थियो।
ड्रमभित्र ठूलो परिमाणमा नगद भेटिएपछि गाउँमा हलचल मच्चिएको थियो। घटनाबारे जानकारी पाएपछि एडीसीपी पुष्कर वर्मासहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए। प्रहरीले घटनासँग सम्बन्ध हुन सक्ने आशंकामा चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विवरणमा उल्लेख छ।
प्रारम्भिक जानकारीअनुसार मुम्बईमा भएको एक आपराधिक घटनाका आरोपी राकेश यादवलाई पक्राउ गर्न तथा घटनासँग सम्बन्धित सामग्री बरामद गर्न प्रहरी टोली प्रयागराज पुगेको थियो। घरमा तलासी गर्ने क्रममा जमिनमुनि गाडिएका ड्रममा नगद फेला परेको बताइएको छ।
स्थानीय बासिन्दाका अनुसार राजेश यादवका भाइ बबलु यादव केही वर्षदेखि भारतको पुणेमा बस्दै आएका थिए। सन् २०२० मा कोरोना महामारीका कारण लकडाउन भएपछि उनी गाउँ फर्किएका थिए। त्यसबेला उनीसँग दुई जना ज्वाइँ र एक जना साढू पनि गाउँ आएको स्थानीयको भनाइ छ।
प्रारम्भिक विवरणमा उनीहरूमार्फत रकम गाउँ ल्याइएको हुन सक्ने आशंका गरिएको भए पनि बरामद नगदको वास्तविक स्रोत, स्वामित्व र आपराधिक घटनासँगको सम्बन्धबारे प्रहरीले आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन।
मेरठमा मुस्कान नामकी महिलाले आफ्ना श्रीमान्को हत्या गरी शव नीलो ड्रममा लुकाएको घटना चर्चामा आएपछि प्रयागराजमा पनि नीलो ड्रमभित्र ठूलो परिमाणमा नगद भेटिएको घटनाले ध्यान आकर्षित गरेको छ।
हाल प्रहरीले बरामद रकमको यकिन विवरण, त्यसको स्रोत तथा घटनामा संलग्न हुन सक्ने व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ।


तपाईको प्रतिक्रिया !