अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा पोस्ट गर्ने युवक पक्राउ

NEWS DESK
२०८३ कार्तिक १३, शुक्रवार ०८:२१ बजे

जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमा नक्कली आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–३, पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादवले परिवारका सदस्य तथा गाउँका अन्य व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली टिकटक आईडी बनाएका थिए । उक्त आईडीमार्फत उनीहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो ।

यसरी सामग्री प्रसारण गर्दा चरित्रहत्या हुनुका साथै व्यक्तिगत गोपनीयतामा समेत आघात पुगेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले यादवलाई कात्तिक ११ गते बिहान पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइल प्रयोग गरी नक्कली टिकटक आईडी बनाएको र फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन् ।

उनलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्