छिपहरमाईमा परिवारवादको बहस चर्कियो : छोरालाई अध्यक्षको उम्मेदवारका रूपमा अघि सारेपछि मनोज गुप्ताको आलोचना, पूर्व गाविस अध्यक्ष गौरीशङ्करले छाडे एमाले

न्यूज डेस्क
२०८३ कार्तिक १३, शुक्रवार १२:५३ बजे

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सरगर्मी बढ्दै जाँदा परिवारवाद र नातावादको विषयले स्थानीय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ। दुई कार्यकाल गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका नेकपा (एमाले) पर्साका जिल्ला उपाध्यक्ष मनोजकुमार गुप्ताले पार्टीभित्र अन्य आकाङ्क्षीलाई अवसर दिनुको सट्टा आफ्नै छोरा मन्दीपकुमार गुप्तालाई अध्यक्ष पदको सम्भावित उम्मेदवारका रूपमा अघि सारेपछि उनीमाथि परिवारवादको आरोपसहित आलोचना सुरु भएको हो।

गुप्ताले लगातार दुई कार्यकाल गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। त्यसपछि पार्टीभित्र नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने आवाज उठिरहेका बेला आफ्नै छोरालाई राजनीतिक उत्तराधिकारीका रूपमा अघि सारेको भन्दै स्थानीय राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ। विशेषगरी पार्टीमा लामो समयदेखि सक्रिय रहेका अन्य नेताहरूलाई अवसर नदिई परिवारकै सदस्यलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ।

यसैबीच, अध्यक्ष पदका आकाङ्क्षीका रूपमा चर्चामा रहेका सन्दीप साह कानु आफ्ना बुबा तथा पूर्व गाविस अध्यक्ष गौरीशङ्कर प्रसाद साह कानुसहित एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। गुप्ताले सुरुदेखि नै आफूलाई अध्यक्ष पदको उम्मेदवार बनाउने आश्वासन दिँदै आएको तर अन्ततः आफ्नै छोरालाई अघि सारेको असन्तुष्टिका कारण साह कानुले पार्टी परिवर्तन गरेको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ।

काठमाडौँस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सन्दीप साह कानुसहितका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए। छिपहरमाईका विभिन्न वडाका एमाले नेता तथा कार्यकर्तासमेत सामूहिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताइएको छ। यस घटनालाई छिपहरमाईमा एमालेको आन्तरिक असन्तुष्टि र आगामी निर्वाचनको राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।

अर्कोतर्फ, सामाजिक सञ्जालमा अध्यक्ष गुप्ता र उनका छोरा मन्दीपलाई लिएर भइरहेको आलोचनाले पनि चुनावी बहसलाई थप तातेको छ। गुप्ताले आफ्नो फेसबुक स्टाटसमा ‘पार्ट–३’ उल्लेख गर्दै छोराको ब्यानर तथा पोस्टर सार्वजनिक गरेपछि चुनावी मैदानमा औपचारिक रूपमा उत्रिएको सन्देश दिन खोजेको देखिन्छ।

परिवारवाद र नातावादको आरोप लागेपछि गुप्ताले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘नातावाद होइन, जनताको निर्णय’ भन्ने अभिव्यक्ति दिएका छन्।

उनले निर्वाचित पद जनताले आफ्नो मतमार्फत प्रदान गर्ने भएकाले कसैले लिखित रूपमा दिएर पाउने विषय नभएको जिकिर गरेका छन्। साथै, छिपहरमाईको राजनीतिक इतिहास उल्लेख गर्दै एकै परिवारका सदस्यहरू पालिका, प्रदेश सांसद, गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षजस्ता पदमा पुगेको प्रसङ्ग उठाएका छन्। नागरिकको ढोका सधैँ खुला रहेको र अन्तिम निर्णय जनताको हातमा हुने उनको भनाइ छ।

तर, गुप्ताको उक्त स्पष्टीकरणपछि पनि स्थानीयस्तरमा परिवारवादको बहस सेलाएको छैन। आलोचकहरूको प्रश्न भने फरक छ—निर्वाचित पद जनताले दिने भए पनि पार्टीभित्र अवसर र उम्मेदवारीको सिफारिस प्रक्रियामा परिवारबाहिरका योग्य तथा अनुभवी कार्यकर्तालाई समान अवसर दिइएको छ कि छैन?

स्थानीय निर्वाचनको मिति औपचारिक रूपमा घोषणा नभए पनि छिपहरमाईमा सम्भावित उम्मेदवारहरूको भेटघाट, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार, ब्यानर तथा पोस्टर सार्वजनिक गर्ने क्रम बढेको छ। गाउँ–टोलदेखि चिया पसल र सामाजिक सञ्जालसम्म सम्भावित उम्मेदवार तथा राजनीतिक दलहरूको चर्चा हुन थालेको छ।

दुई कार्यकाल अध्यक्ष भइसकेका मनोज गुप्ताले आफ्नै छोरालाई अघि सारेको विषय र त्यसैको असन्तुष्टिमा सन्दीप साह कानुले एमाले छाडेर अर्को पार्टी रोजेको घटनाले छिपहरमाईको आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने सङ्केत गरेको छ।

अब छिपहरमाईका मतदाताले परिवारभित्रै नेतृत्व हस्तान्तरणको प्रयासलाई कसरी लिनेछन् र पार्टी परिवर्तन गरेका सन्दीप साह कानुले कस्तो राजनीतिक प्रभाव पार्नेछन् भन्ने विषय आगामी निर्वाचनको महत्त्वपूर्ण चासो बन्ने देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्