बारा, कार्तिक १४ । बाराको फेटा गाउँपालिका–३ मा भएको झडपप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सोनलले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।
गोली लागेर गम्भीर घाइते भएका आदित्य पासवानलाई उच्चस्तरीय स्वास्थ्य संस्थामा निःशुल्क उपचार गराउनुपर्ने उल्लेख गर्दै उनले अन्य घाइतेको उपचार खर्चसमेत सरकारले बेहोर्नुपर्ने बताएका छन्।
सोनलले जनप्रतिनिधिलाई घटनाप्रति गम्भीर बन्न र प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम गर्न आग्रह गरेका छन्।
त्यस्तै, स्थानीय समाजका अगुवा, बुद्धिजीवी, युवा तथा राजनीतिकर्मीलाई सामाजिक सद्भाव र शान्ति कायम गर्न सक्रिय भूमिका खेल्न अपिल गरेका छन्। उनले आदित्य पासवानसहित सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।


तपाईको प्रतिक्रिया !