छठ पर्व नजिकिएकाले सिर्सिया नदीमा प्रदूषित पानी नछोड्न उद्योगहरूलाई चेतावनी

NEWS DESK
२०८३ कार्तिक १३, शुक्रवार १७:३८ बजे

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ।

विशेषगरी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिर्सिया नदी आसपासका उद्योगबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासीलाई छठ पर्व मनाउनसमेत कठिनाइ हुने गरेको गुनासो आएपछि विभागले यस्तो निर्देशन दिएको हो।

विभागका अनुसार विभिन्न माध्यमबाट उद्योगहरूले नदी तथा खोलामा प्रदूषित पानी मिसाएको सम्बन्धमा जनगुनासो तथा उजुरी प्राप्त भएका छन्। सिर्सिया नदी आसपासका उद्योगबाट निष्कासन हुने प्रदूषित पानीका कारण नदीको स्वच्छता प्रभावित भएको विषयमा विभागको गम्भीर ध्यानाकर्षण भएको छ।

छठ पर्वका अवसरमा नदीको स्वच्छता कायम राख्न विशेष संवेदनशील हुन विभागले सम्बन्धित सबै उद्योगलाई आग्रह गरेको छ। उद्योगबाट निष्कासन हुने फोहोर पानी नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्डअनुरूप भए–नभएको सुनिश्चित गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

त्यस्तै, चाडपर्वका समयमा नदीको स्वच्छता कायम राख्न उद्योगहरूले डिप बोरिङ वा अन्य स्रोतबाट स्वच्छ पानी उपलब्ध गराई नदी सफा राख्ने कार्यमा थप सहयोग गर्न विभागले आग्रह गरेको छ।

निर्देशनको प्रभावकारी कार्यान्वयन भए–नभएको सम्बन्धमा संयुक्त अनुगमन तथा निरीक्षण गरिने विभागले जनाएको छ। अनुगमनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेशअन्तर्गतका सम्बन्धित निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायको सहभागिता रहनेछ।

प्रचलित वातावरणीय कानुन तथा मापदण्डको पालना गर्दै नदी प्रदूषण नियन्त्रण र स्वच्छता कायम राख्न सम्बन्धित सबै उद्योगलाई आवश्यक व्यवस्था मिलाउन विभागले आग्रह गरेको छ।

नदी प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै विभागले औद्योगिक फोहोर पानीको उचित व्यवस्थापन गर्न उद्योगहरूलाई सचेत गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्