डिजेल ट्यांकरसँग ईभी हाइस र मोटरसाइकल ठोक्किए, १० जना घाइते

NEWS DESK
२०८३ कार्तिक १३, शुक्रवार १७:१२ बजे

बारा, १३ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १२ बजे नेपाल आयल निगमको डिपो नजिक पथलैया–हेटौंडा सडकखण्डमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको ट्यांकरमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। त्यसपछि हाइसको पछाडि रहेको अनटेस्ट मोटरसाइकल पनि दुर्घटनामा परेको थियो।

दुर्घटनामा ट्यांकर चालक चेतनाथ खरेलसहित १० जना घाइते भएका छन्। घाइते हुनेमा ईभी चालक आशिष मल्ल, वीरगञ्ज महानगरपालिका–२ की समिना खातुन र उनकी छोरी सखीना खातुनसहित विभिन्न स्थानका यात्रु तथा मोटरसाइकल चालक रहेका छन्।

घाइते सबैको अमलेखगञ्जस्थित नोभाकेयरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ। घाइतेहरूको हात, खुट्टा, टाउको र आँखालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

दुर्घटनापछि ईभी हाइस सडकमा चल्न नसक्ने अवस्थामा पुगेपछि केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो। दिउँसो १ बजेर ५५ मिनेटदेखि सडकमा दुईतर्फी आवागमन पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्