जनकपुरधाम, १३ कात्तिक । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल सुरु भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट एमालेले गत असोज २५ गते समर्थन फिर्ता लिएपछि नयाँ सत्ता समीकरण निर्माणको प्रयास तीव्र बनेको हो ।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा नेपाल र जनमत पार्टीका नेताहरूसँग संवाद भइरहेको बताउँदै चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याइने जानकारी दिएका छन् ।
नयाँ सत्ता समीकरणमा तीनवटै दलले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राख्दै आएको छ । जसपा संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलका अध्यक्षबीच केन्द्रबाटै नेतृत्वको विषय टुंग्याउने समझदारी भएको बताएका छन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । हाल एमालेका २३, जसपाका २७ र जनमत पार्टीका १२ गरी तीन दलसँग ६२ प्रदेशसभा सदस्य छन् ।
त्यस्तै, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् । तीन दलबीच सहमति जुटेमा मधेसमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ ।


तपाईको प्रतिक्रिया !