जनकपुरधाम । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढे पनि सरकारले उपभोक्तालाई सहुलियत मूल्यमा इन्धन उपलब्ध गराइरहेको बताएका छन् ।
शनिबार बर्दिबासमा आयोजित पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभाको उद्घाटन गर्दै उनले निगमले दैनिक करिब २५ करोड रुपैयाँ घाटा व्यहोरेर पेट्रोल र डिजेल बिक्री गरिरहेको जानकारी दिए ।
जनतालाई सहज रूपमा इन्धन उपलब्ध गराउने उद्देश्यले सरकारसँगको समन्वयमा घाटा सहेर पनि पेट्रोलियम पदार्थ बिक्री गर्ने निर्णय गरिएको उनको भनाइ थियो ।
कार्यकारी निर्देशक साहले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सर्लाहीमा ग्यास डिपो निर्माण भइरहेको जानकारी दिए । साथै, सर्लाही र भारतको मोतीहारीबाट पाइपलाइन विस्तार गर्ने योजना राष्ट्रिय प्राथमिकतामा रहेको उनले बताए ।
उनले पेट्रोलियम व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन व्यवसायीलाई आग्रह गर्दै कमिसनलगायतका विषयमा आगामी दिनमा हुने निर्णयमा निगमले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एसोसिएसनका राष्ट्रिय अध्यक्ष विश्वप्रसाद अर्यालले संस्थाको विकाससँगै व्यवसायीको हितसमेत सुनिश्चित हुनुपर्ने बताए । लागतअनुसार प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गर्दै उनले व्यवसायीको कमिसन वृद्धि गर्नुपर्ने माग गरे ।
एसोसिएसनका निवर्तमान अध्यक्ष लिलेन्द्र प्रधानले व्यवसायीले न्यून सेवा शुल्कमा काम गर्नुपरेको भन्दै व्यवसायलाई पारदर्शी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । उपभोक्तालाई केन्द्रमा राखेर तोकिएको गुणस्तर र परिमाणअनुसार इन्धन उपलब्ध गराउनु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो ।
राज्यले व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै प्रधानले लागत र प्रतिफललाई बेवास्ता गरिए व्यवसायी पेसाबाट पलायन हुन सक्ने र त्यसले उपभोक्तालाई सहज सेवा दिनसमेत कठिनाइ उत्पन्न गर्ने धारणा राखे ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले व्यवसायीलाई आफ्नो पेसामा निष्ठा र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे ।
त्यस्तै, ढुवानी व्यवसायी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहले महेन्द्रनगर डिपोको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पेट्रोलियम व्यवसायीको कमिसन न्यून रहेको भन्दै वृद्धि गर्न माग गरे ।
एसोसिएसन महोत्तरीका अध्यक्ष राजिव प्रसाद साहको अध्यक्षतामा सम्पन्न साधारणसभामा पेट्रोलियम व्यवसायको समस्या, व्यवसायीको हित, इन्धन आपूर्ति व्यवस्थापन र उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा चर्चा गरिएको थियो ।


तपाईको प्रतिक्रिया !