वीरगञ्ज। बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवान होसमा आएका छन्। बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले सामाजिक सञ्जालमार्फत आदित्य होसमा आएको जानकारी दिएका हुन्।
सांसद साहले आदित्यका परिवारका सदस्यहरूसँग भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। भेटपछि सामाजिक सञ्जालमा उनले आदित्य होसमा आएको खबरले आशा जगाएको बताएका छन्।
उनले लेखेका छन्, “आदित्य पासवान अहिले होसमा आएको छ। तपाईँ सबैको प्रार्थना र डाक्टरको मेहेनतको फल हो।”
सांसद साहले घटनापछि समाजमा शान्ति र सद्भाव कायम राख्न सबैसँग आग्रह गरेका छन्। कसैको बहकाउमा लागेर गलत कदम नचाल्न आग्रह गर्दै उनले सबैलाई संयमित रहन अपिल गरेका छन्।
फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर आदित्य गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो।
आदित्य होसमा आएको खबरले परिवारजन तथा शुभेच्छुकमा आशा जगाएको छ। सांसद साहले संवेदनशील परिस्थितिमा सामाजिक सद्भाव कायम राख्नु सबैको जिम्मेवारी भएको बताएका छन्।


तपाईको प्रतिक्रिया !