रौतहटका तीन अलपत्र पूर्वाधार आयोजनाको ठेक्का तोडियो

NEWS DESK
२०८३ कार्तिक १५, आइतवार १७:४५ बजे

काठमाडौँ। लामो समयदेखि निर्माण अलपत्र रहेका रौतहटका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता सरकारले तोडेको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि लमाहा खोला पुल, लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती सडक स्तरोन्नति आयोजनाको ठेक्का अन्त्य गरिएको हो।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तीनवटै आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल र चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल निर्माणको काम करिब १० वर्षदेखि अलपत्र थियो। यी दुवै पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु र शिवशंकर जेभी, गरुडा रौतहटसँग सम्झौता भएको थियो।

सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गरी अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्‍याइएको थियो। तर, त्यस अवधिमा पनि काम सम्पन्न हुन सकेन।

त्यस्तै, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति तथा पुनर्स्थापना आयोजनाको ठेक्का पनि तोडिएको छ। गत आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजनाको भौतिक प्रगति शून्य देखिएपछि सम्झौता अन्त्य गरिएको मन्त्री लम्सालले बताएका छन्।

सडक डिभिजन चन्द्रनिगाहपुरले समेत तीनवटै ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ।

पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले लामो समयदेखि आवागमनमा सास्ती भोग्दै आएका छन्। सरकारले अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाउने जनाएको छ।

मन्त्री लम्सालका अनुसार देशभर रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनालाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको छ। निर्माण सम्पन्न हुने सम्भावना भएका आयोजनालाई अन्तिम मौका दिने र त्यसपछि पनि काम अघि नबढे ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण सम्पन्न गरिने सरकारको नीति छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्