बारा। बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।
शनिबार भएको झडपमा तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका पासवानलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँ पेडियाट्रिक सर्जन डा. विनोद कुमार राय नेतृत्वको चिकित्सकीय टोलीले शल्यक्रिया गरी उनको तिघ्रामा लागेको गोली निकालेको थियो।
तर थप विशेष उपचार र निगरानी आवश्यक देखिएपछि अस्पतालले उनलाई काठमाडौँ रिफर गरेको हो। बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार पासवानलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
संघीय सरकारको अनुदानमा निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटनका क्रममा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद हुँदा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा पासवान घाइते भएका थिए।
घटनाको सत्यतथ्य पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभु ढकालको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ।
अस्पताल उद्घाटनका क्रममा भएको झडपमा किशोर घाइते भएपछि घटनाप्रति विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त भइरहेको छ। स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।


तपाईको प्रतिक्रिया !