पत्रकारलाई सार्वजनिक मञ्चबाटै गालीगलौज र कुटपिटको धम्की दिएको भन्दै वडाध्यक्ष साहको अभिव्यक्तिप्रति प्रेस चौतारी पर्साको आपत्ति

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार २०:२५ बजे

वीरगञ्ज, १६ कार्तिक । पोखरिया नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानूले पत्रकार शैलेश साह कानूलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाउँदै घोर भर्त्सना गरेको छ।

पत्रकार शैलेश साह कानू प्रेस चौतारी नेपाल, पर्सा शाखाका सदस्य तथा ‘फेमस नेपाल सन्देश’ पत्रिकाका प्रकाशकसमेत हुन्।

प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा जारी विज्ञप्तिअनुसार गत शुक्रबार, कार्तिक १३ गते पोखरिया नगरपालिकाको ११औँ नगरसभाको खुला मञ्चमा वडाध्यक्ष कानूले पत्रकारमाथि दुर्व्यवहार गरेका हुन्। पोखरिया नगरपालिका–४, सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयको कर्मचारी नियुक्ति तथा व्यवस्थापनसम्बन्धी विषयमा समाचार प्रकाशन गरेको भन्दै वडाध्यक्षले सार्वजनिक कार्यक्रममै गालीगलौज गर्नुका साथै कुटपिटको धम्की दिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको व्यावसायिक धर्म र संवैधानिक अधिकार भएको उल्लेख गर्दै समाचारप्रति कुनै असहमति भए खण्डन गर्ने वा कानुनी उपचार खोज्ने वैधानिक बाटो हुँदाहुँदै सार्वजनिक रूपमा धम्की दिनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत रहेको जनाइएको छ।

प्रेस चौतारी पर्साले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, पत्रकार शैलेश साह कानूको सुरक्षाको प्रत्याभूति गर्न तथा घटनामा संलग्न वडाध्यक्षमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

त्यसैगरी, पत्रकारहरूलाई निर्भीक र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न सबै जनप्रतिनिधि तथा सरोकारवालासँग प्रेस चौतारी पर्साले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्