सरकारको कार्यशैली गाउँगाउँ पुगेर जनतालाई बुझाउँछौँ : प्रचण्ड

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार १८:५४ बजे

महोत्तरी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीबारे जनतालाई गाउँगाउँ पुगेर जानकारी गराउने बताएका छन्।

राष्ट्रिय जागरण अभियानअन्तर्गत सोमबार महोत्तरीको बर्दिबासमा आयोजित पैदल यात्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सुदृढीकरण र जनताका गुनासा सुन्न अभियान सञ्चालन गरिएको बताए।

लोकतन्त्र र जनअधिकारको रक्षा, राष्ट्रिय स्वाधीनता, पार्टी समायोजन, सदस्यता नवीकरण तथा संगठन सुदृढीकरण अभियानका मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे। कात्तिक ७ गतेदेखि सुरु भएको अभियानको केही दिनपछि समीक्षा गरी आगामी चरणको कार्यदिशा तय गरिने पनि उनले जानकारी दिए।

वर्तमान सरकारको कार्यशैलीबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले सरकारको कामबारे आमजनताले आफैँ मूल्यांकन गर्ने बताए। बौद्धिक समुदायले सरकारको कार्यशैली बुझिसकेको उल्लेख गर्दै उनले भने, “हामी गाउँगाउँ गएर जनतालाई बुझाउने छौँ।”

नेकपा र एमालेबीच सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले अहिले उक्त विषयमा प्रवेश नगरिएको र तत्काल सहकार्य सम्भव नरहेको प्रतिक्रिया दिए।

मधेश प्रदेशका केन्द्रीय सदस्यहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन महोत्तरी आएका प्रचण्डले बर्दिबासमा भएको पैदल यात्रामा स्थानीयवासीले देखाएको उत्साहप्रति धन्यवाद व्यक्त गरे। उनले पार्टीभित्र सबैको उद्देश्य, एकता र सद्भाव एउटै हुनुपर्नेमा जोड दिँदै तिहारको शुभकामनासमेत दिए।

यसैबीच, प्रचण्डसहितका नेताहरूले महोत्तरीको सम्सी गाउँपालिकामा कार्यकर्तासँग भेटघाट गरेका छन्। सम्सी गाउँपालिका–६ का वडाध्यक्ष शेष उमैरको निवासमा आयोजित कार्यक्रममा प्रचण्डसँगै मातृका यादव, भरत साह, महेन्द्रप्रसाद यादव, मधेश प्रदेश कमिटी सदस्य अरविन्द दास, लालिन्द्र मण्डल तथा प्रदेशसभा सदस्य रजि हैदरलगायत सहभागी थिए।

कार्यक्रममा प्रचण्डले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेता तथा कार्यकर्तालाई एकजुट भएर तयारीमा जुट्न आग्रह गरे। पार्टीले अध्यक्ष पदका लागि सिफारिस गरेका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्