वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषित गरेको छ।
सांगठनिक नीति तथा निर्देशनअनुसार आफूलाई सुम्पिएको जिम्मेवारी र पदीय दायित्व इमान्दारी, बफादारी तथा कर्तव्यनिष्ठाका साथ निर्वाह गर्दै आएका यादवलाई अपराध अनुसन्धानमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै उत्कृष्ट प्रहरी घोषित गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यादवले असोज महिनामा डाँका तथा ज्यानसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्राविधिक विश्लेषण गरी सफल अनुसन्धान कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको व्यावसायिक दक्षता, अनुसन्धानप्रतिको लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसहित सम्मान गरिएको कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईद्वारा हस्ताक्षरित प्रशंसापत्रमा यादवले आगामी दिनमा पनि पेशागत कर्तव्यप्रति इमान्दार र बफादार रहँदै अपराध अनुसन्धानका क्षेत्रमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रहरी सहायक हवल्दार यादव (कर्मचारी कोड ४१७१७०) जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत छन्।
कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र अनुसन्धानमा देखाएको सक्रियताको कदरस्वरूप प्राप्त यस सम्मानले प्रहरी कर्मचारीलाई थप जिम्मेवार र प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !