मधेश प्रदेशमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित, सडकमा दृश्यता घट्दा दुर्घटनाको जोखिम

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार ०९:०९ बजे

वीरगंज । मधेश प्रदेशका विभिन्न जिल्लामा सोमबार बिहानैदेखि बाक्लो हुस्सु र चिसो सिरेटो चलेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण सडक, खेतबारी तथा आसपासका क्षेत्र धमिलिएका छन् भने सवारी आवागमनसमेत प्रभावित बनेको छ।

विशेषगरी सप्तरीसहित मधेश प्रदेशका अधिकांश जिल्लामा बिहानको समयमा बाक्लो कुहिरो लाग्दा सडकमा अगाडि रहेका सवारीसाधनसमेत स्पष्ट देख्न कठिन भएको थियो। मौसमले पुस–माघ महिनाको झल्को दिएको स्थानीयवासीले बताएका छन्।

हुस्सुसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत असहज भएको छ। यसको प्रभाव विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा बिहानै काममा निस्कने श्रमिकहरूमा बढी देखिएको छ।

राजविराजबाट बिहानै विङ्गर गाडी लिएर धरानतर्फ जाँदै गरेका चालक वीरेन्द्र यादवले बाक्लो हुस्सुका कारण सडक स्पष्ट देख्न नसकिएको बताए। उनका अनुसार अगाडिको दृश्य नदेखिने भएकाले सवारीसाधन निकै सावधानीपूर्वक चलाउनुपर्ने अवस्था छ।

सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उनले बताए। यस्तो अवस्थामा सवारी चालकले गति कम गर्नुका साथै अगाडिको सवारीसाधनसँग सुरक्षित दूरी कायम राख्नुपर्ने उनको भनाइ छ।

स्थानीय बिन्दुकुमार यादवले पनि बाक्लो कुहिरोका कारण बाटो स्पष्ट देख्न कठिन भएको बताए। उनका अनुसार असिना पानी परेझैँ सडक भिजेको छ भने बिहानको हुस्सुले पैदल हिँड्दा शरीरसमेत ओसिलो हुने गरेको छ।

स्थानीय वृद्ध सितावीप्रसाद साहले सोमबार बिहानको मौसमले पुस–माघ महिनाको झल्को दिएको बताए। बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि वातावरण चिसो र ओसिलो बनेको उनको भनाइ छ। यद्यपि, पुस–माघ महिनामा हुने शीतलहरको तुलनामा अहिले चिसो केही कम महसुस भएको उनले बताए।

हुस्सुका कारण विशेषगरी लामो दूरीका सवारीसाधन, मोटरसाइकल चालक तथा पैदलयात्रुलाई बढी समस्या भएको छ। मौसममा आएको परिवर्तनले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, किसान, विद्यार्थी तथा बिहानै आवतजावत गर्नुपर्ने सर्वसाधारणको दैनिक जीवनसमेत प्रभावित बनेको छ।

बिहानको समयमा बाक्लो हुस्सु लाग्ने क्रम जारी रहेकाले सवारी चालक तथा पैदलयात्रीलाई थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्