मधेसमा बालविवाह रोक्न कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

NEWS DESK
२०८३ कार्तिक १८, बुधवार १९:०४ बजे

जनकपुरधाम । मधेस प्रदेशमा बालविवाहको समस्या न्यूनीकरण गर्न बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

जनकपुरधाममा मंगलबार नेपाल मुस्लिम महिला कल्याण समाजले आयोजना गरेको बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी कार्यक्रममा सहभागीहरूले कानुन कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन्।

कानुनी व्यवस्था हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयनको अभावमा बालविवाहका घटना अझै भइरहेकाले स्थानीय तह, समुदाय, अभिभावक तथा सरोकारवाला निकायले संयुक्त रूपमा पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले नगर क्षेत्रमा बालविवाहका घटनामा कमी आएको बताए। बालविवाह हुन लागेको जानकारी प्राप्त हुनासाथ त्यसलाई रोक्ने प्रयास गर्दै आएको उनले उल्लेख गरे।

कार्यक्रममा बालविवाह न्यूनीकरणका विभिन्न पक्षबारे समूहगत छलफलसमेत गरिएको थियो। सहभागीहरूले बालविवाहका कारण बालबालिकाले मानसिक, आर्थिक तथा सामाजिक समस्या भोग्नुपरेको भन्दै अभिभावकले आफ्ना छोराछोरीलाई यसबारे सचेत बनाउनुपर्नेमा जोड दिएका थिए।

समूहगत छलफलपछि आफ्नो प्रस्तुति राख्दै लाइफ नेपालकी फरिदा खातुनले बालविवाहका कारण मातृ तथा बाल मृत्युदर बढ्ने जोखिम, महिलाको उच्च शिक्षामा पहुँच घट्ने तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या उत्पन्न हुने बताइन्।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार मधेस प्रदेशमा बालविवाहको दर ३२.८ प्रतिशत रहेको छ। यसले प्रदेशमा बालविवाह न्यूनीकरण अझै चुनौतीपूर्ण रहेको देखाउँछ।

नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयकी अधिकृत कुमारी शरणा उराव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहलगायतको सहभागिता थियो।

सहभागीहरूले बालविवाह अन्त्यका लागि कानुनी कारबाहीसँगै सामाजिक चेतना, शिक्षामा पहुँच र अभिभावकको जिम्मेवारीलाई पनि प्राथमिकता दिनुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्