तिहार नजिकिएसँगै माटोका दियो बनाउन प्रजापति परिवारलाई भ्याइनभ्याइ

NEWS DESK
२०८३ कार्तिक १८, बुधवार १९:०२ बजे

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटोका पाला (दियो) बनाउन भ्याइनभ्याइ भएको छ। पुस्तौँदेखि माटाका भाँडा बनाउँदै आएका प्रजापति परिवारका सदस्य यतिबेला तिहार लक्षित पाला उत्पादनमा व्यस्त भएका छन्।

भक्तपुर नगरपालिका–४ स्थित पोर्टरी स्क्वायरमा रहेका प्रजापति समुदायका परिवारका सदस्य बिहानदेखि बेलुकासम्म पाला बनाउन व्यस्त देखिन्छन्। तिहारमा माटोका दियोको माग बढ्ने भएकाले उनीहरूलाई उत्पादन र बिक्रीको चटारो परेको हो।

प्रजापतिका अनुसार माटोका पाला प्रतिदर्जन ४० रुपैयाँमा बिक्री भइरहेको छ। तिहारमा घरघरमा दीप प्रज्वलन गर्न माटोका पाला प्रयोग गरिने भएकाले यस समयमा यसको माग बढ्ने गरेको छ।

नेपाली संस्कृति तथा धार्मिक परम्परामा माटोका पाला विशेष महत्त्व राख्छन्। तिहार अर्थात् यमपञ्चकका पाँच दिन घर, आँगन र मठमन्दिरमा तेल वा घ्यू राखेर कपासको बत्ती बाल्ने चलन छ।

आधुनिक विद्युतीय बत्तीको प्रयोग बढ्दै गए पनि तिहारमा माटोका दियो बाल्ने परम्पराले निरन्तरता पाउँदै आएको छ। यसले प्रजापति समुदायको पुस्तौँदेखिको परम्परागत पेसा र स्थानीय हस्तकलालाई समेत जीवित राख्न मद्दत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्